
पूर्णपुष्टि, माघ १८ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा एक नवजात शिशुको एक हात मात्र भएको शव फेला परेको छ । शुक्रबार स्थानीय जसबहादुर राईको घर नजिकै वासबारीमा गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक सन्जु कार्कीका अनुसार स्थानीयबाट सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । शवको बाँकी भाग कुकुरले खाइसकेको र एक हात मात्र बाँकी रहेको अवस्थामा फेला परेको हो ।
उक्त हात परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । प्रारम्भिक अनुसन्धानबाट केही दिन अघि मात्र शव गाडिएको र अवैध गर्भपतन पश्चात घटना लुकाउन प्रयास गरिएको हुनसक्ने प्रहरीको आशंका छ । शिशुको हत्या गरी माटोमा खाल्डो खनेर गाड्ने काम भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक कार्कीले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन् ।