Wednesday, June 3News That Matters

खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाउने विद्यार्थी पक्राउ

पूर्णपुष्टि, फागुन २६ ।
खोटाङमा एक शिक्षकलाई कालो मोसो दलेर जुत्ताको माला लगाइदिएको अभियोगमा एक विद्यार्थी पक्राउ परेको छ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई दुव्यवहार गरेको अभियोगमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका प्रदेशसभा सदस्य पावेल राई पक्राउ परेको हो ।
लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तिकारीले बुधवार शिक्षक ताकमान राईलाई सार्वजनिकस्थलमा मोसो दल्दै जुत्ताको माला लगाइदिएका थिए ।
शिक्षकलाई दुर्व्यवहार गरेको केही समयपछि इलाका प्रहरी कार्यालय खोटाङबजारले राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । विगत ८ वर्षदेखि प्रअको भूमिकामा रहेका शिक्षक राई केही महिनाअघि मात्र प्रअबाट हटाइएका थिए ।

दोषीलाई कारबाही गर्न आयोगको माग
राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकमाथि दुर्व्यवहार गर्ने दोषीमाथि कारबाही गर्न माग गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले व्यक्तिको मर्यादामा आँच पु¥याउने गरी मोसो दल्ने र जुत्ताको माला लगाउने कार्य कानूनी शासन र मानव अधिकार विपरीत भएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गराएको हो । आयोगले आगामी दिनमा त्यस्ता कार्य नगर्न तथा त्यस्ता खालका घटना दोहोरिन नदिन गम्भीर रूपमा पहल गर्न अनुरोध गरेको छ ।