Monday, June 29News That Matters

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, ६ गते ।

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितहरुमध्ये तनहुँको ऋषिङ गाउँपालिकाका २१ जना छन् । उनीहरु १ वर्षको बालकदेखि ३७ वर्ष उमेर समूहका युवाहरु छन् । यस्तै ब्यास नगरपालिकामा २४ र २८ वर्षका दुई जना पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुर जिल्लाका १६ संक्रमितहरुमध्ये बुलिङटार गाउँपालिकाका मात्रै ११ जना छन् । उनीहरु १७ वर्षदेखि ३७ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यस्तै मध्यविन्दु नगरपालिकाका २५ र ४५ वर्ष उमेर समूहका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुरकै बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, विनयत्रिवेणी गाउँपालिका २१ वर्षीय पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ ।

बाग्लुङको काठेगाखोला गाउँपालिकामा ७ जना पुरुष र एक जना महिला गरी ८ जना नयाँ संक्रमित फेला परेका छन् । उनीहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।

गोरखाको भिमसेन नगरपालिकामा ३६, ३३, २२, ३५ र २८ वर्षका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको मादी गाउँपालिकामा ४१ वर्षीय पुरुष र १९ महिने बालिकामा कोरोना पुष्टि भएको छ ।

यसैगरी म्याग्दीको मालिका गाउँपालिकामा ३० वर्षीय पुरुष र स्याङ्जाको पालिका नखुलेको २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको जनाएको छ ।