Monday, April 20News That Matters

गर्भको भ्रुणको लिंग पहिचान गर्न नपाईने सूचना टाँस्न मन्त्रालयको निर्देशन

पूर्णपुष्टि, असार १ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले गर्भको भ्रुणको लिंग पहिचान गर्न नपाईने सूचना टाँस्न अस्पताल र स्वास्थ्य संस्थालाई सुचना जारी गर्दै निर्देशन दिएको छ ।

सचिवस्तरीय निर्णय गरी मन्त्रालयले निर्देशन दिएको हो । जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि सूचना टाँस्ने व्यवस्था गर्न निर्देशन दिईएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ ‘राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र राष्ट्रिय रणनीति २०७८–२०८८ मा समेत विभेदपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको र मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवं सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थाहरूमा त्यस्ता गतिविधि नहुने वातावरण तयार गर्न अनिवार्य सूचना टाँस गर्नुपर्ने छ ।

गर्भमा रहेको भ्रूणको लिंग पहिचान गर्नु कानुनीय हिसाबले दण्डनीय अपराध हो । ‘कसैले गर्भमा रहेको भ्रूणको लिंग पहिचान हुने कुनै कार्य गर्न र गराउन हुँदैन, यदि सो कार्य गरे वा गराएमा ३ महिनादेखि १ वर्षसम्म कैद सजाय हुनेछ । छोरीको जन्म सुनिश्चित गरौं, विभेदपूर्ण लिंग छनौट अन्त्य गरौं’ लेखिएको सुचना टास्न सुचनामा उल्लेख गरिएको छ ।