Wednesday, April 29News That Matters

गाईघाटका सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा

पूर्णपुष्टि, जेष्ठ २९ । उदयपुरको सदरमुकाम गाईघाटका सम्पूर्ण सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर शन्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् । सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी तथा हिराका गरगहनाको ब्याबसायमा लगाएको बिलासीता करको बिरुद्धमा सुनब्याबसायीहरु बिहिबार देखी आन्दोलनमा उत्रिएका हुन् ।

सुनमा लगाईएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारीको लागी प्रष्ट निति नियमावली निर्माण गर्नुपर्ने माग सहित व्यवसायीहरुले आन्दोलन गरेका हुन् ।

उदयपुर सुनचाँदी व्यवसायी संघको नेतृत्वमा गाईघाटस्थित पिपल चोकबाट नारा सहित निस्किएको व्यवसायीहरुको र्याली बि.पि. चोक, मेनचोक, जिल्ला अस्पताल हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको व्यवसायी रमेश रसाईलीले जानकारी दिए । आन्दोलन स्वरुप सुनचाँदी व्यवसायीहरुले बिहिबार र शुक्रबार गरी दुई दिनका लागी पसल बन्द गर्ने निर्णय गरेको उनले बताए ।