
पूर्णपुष्टि, चैत्र ८ । विश्व वित्तीय सप्ताह २०२५ को अवसरमा नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ्ग प्रा.लि. स्टक ब्रोकर नं. १९ ले उदयपुरको सदरमुकाम गाईघाटमा धितोपत्र बजार सम्बन्धी वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार गाईघाटस्थित होटल टाउन हलमा आयोजित कार्यक्रम नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ्ग प्रा.लि. को सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको थियो । नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ्ग प्रा.लि. विराटनगर शाखा प्रमुख बिवेक पौडेलको सभापतित्वमा वार्षिक वित्तीय जागरूकता अभियान अन्तर्गत आयोजित धोतोपत्र बजार सम्बन्धि वित्तीय सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम जिल्ला उद्योग वाणिज्य संघ उदयपुर, त्रियुगा उद्योग वाणिज्य संघ र क्यान्भास स्कुल तथा कलेजको समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले सेयर बजारलाई राम्रोसँग बुझेको मानिसले राम्रो आम्दानी गर्न सक्ने बताएका छन् । उनले सेयर बजार एक व्यवसाय रहेको र यसको बारेमा राम्रो जानकारी नभई होमिएमा घाटा समेत व्यहोर्नुपर्ने भन्दै सचेत रहन आग्रह गरे ।
धितोपत्र बजार सम्बन्धि निलम भट्टराईले पुँजी बजारको विविध पक्ष बारेमा प्रकाश पारेका थिए भने प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीले दोस्रो बजारको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली सहित क्यान्भास कलेजका विद्यार्थी, होटल व्यवसायी, व्यापारी लगायतको उपस्थिति रहेको थियो ।