
पूर्णपुष्टि, जेष्ठ २४
सगरमाथा इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले आगोले जलेर क्षती पुगेको सवारीका धनिलाई ४० लाख बराबरको भुक्तानी प्रदान गरेको छ । मंगलबार गाईघाट स्थित सवारी धनी किसन राईको घरमै कम्पनीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीले सवारी बिमा दावी भुक्तानी बापतको रकम प्रदान गरेको गाईघाट शाखा प्रमुख धन वहादुर कटुवाल (डिवी) ले जनाए ।
गएको माघ १९ गते राती १ बजेको समयतीर राईको गाडीमा आगोलागि पूर्ण क्षती पुगेका थिए । सोही क्षती वापतको रकम ४ महिना पछि कम्पनीले धनीलाई बुझाएको छ । त्रियुगा नगरपालिका ११ पुरानो सब्जी बजार स्थित किसन राईको करिब ५२ लाख बराबरको स्कारपियो जलेर नष्ट भएका थिए । स्कारपियो सँगै एउटा मोटरसाईकल समेत जलेर नष्ट भएका थिए । सवारी धनी राईले विमा वापतको रकम पाएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले ढिलै भएपनि रकम प्रदान गरेर आफ्नो मन जित्न सकेको भन्दै सगरमाथा इन्स्योरेन्स कम्पनी गाईघाट शाखालाई धन्यवाद व्यक्त गरे । विमा कम्पनीहरु विमा गर्नु भन्दा पहिले बिभिन्न प्रलोभनमा देखाउदै विमामा समावेश गराउने तर घटना पश्चात बिभिन्न बाहानामा दुख दिने र कतिको भुक्तानी नदिरहेको अवस्थामा आफ्नो भने ढिलै भएपनि भुक्तानी आएको राईले जनाए । उनले विमा कम्पनीहरुले थप विश्वास जित्न समयमै ग्राहकहरुलाई कति पनि नभुल्याई आवश्यक प्रक्रियाहरु पुरा गरी यस्ता घटनाको भुक्तानी दिन समेत सुझाव दिए ।
यस्तै गाईघाटका वरिष्ठ व्यपारी भरत चाम्लीङले विमा कम्पनीहरुले आफ्नो स्वार्थको लागि नभई ग्राहकहरुको भविष्य सुरक्षित गर्ने गरी काम गर्नु पर्ने जनाए । उनले यसो गरेमा विमा कम्पनीहरुमा ग्राहकहरुलाई सहज हुने र विमा प्रति मानिसहरु आकर्षित हुने समेत जनाए । राईले यसका लागि विमा कम्पनीहरुले विमा गर्दा पाउने सेवा सुविधा र आवश्यक कागजात लोकेशनहरु जस्ता कुराहरु पहिल्यै जानकारी गराई र खोजतलास गराई विमामा समावेश गरेमा घटना पछि भुक्तानी निकै सहज हुने समेत जनाए । कतिपय नबुझेक सोझा साझाहरुले यस्तो कुराको ख्याल नगर्दा दावी भुक्तानीहरु समेत गुमाउनु परेको छ । यस्को सहजीकरणका लागि ग्राहकहरुलाई पोलेसी र आवश्यक कानुन नितिनियमहरु समेत प्रष्ट पार्नु पर्ने जनाए ।

यस्तै गाईघाट शाखा प्रमुख कटुवालले विमा कम्पनी भनेको कुनै पनि व्यक्ति व्यवसायी, धनमाल जस्ता भौतीक संरचनाहरुको संरक्षण गर्ने माध्यम रहेको जनाए । उनले प्रकृतिक विपदका कारण आउने जोखिमको संरक्षक नै विमा रहेको जनाए । गाईघाटको सन्दर्भमा सगरमाथा इन्स्योरेन्स करिब ८ बर्ष देखी स्थापना भएर काम गरिरहेको कटुवालले जनाए । उक्त शाखाले सवारी लगायत व्यापार व्यवसायी जस्ता विमा भुक्तानी रकम जिल्लामै बढी भन्दा बढी प्रदान गरिरेको जनाए । सगरमाथा इन्स्योरेन्सको गाईघाटमा मात्रै नभई देश व्यापी रुपमा सफलताले शिखर चुमेमको समेत कटुवालले जनाए । रकम हस्तान्तरणमा बरिष्ठ व्यापारी भरत चाम्लीङ्, एनएमवी बैँकका उदयपुर शाखा प्रवन्धक राजेश पोखरेल, सगरमाथा इन्स्योरेन्स गाईघाट शाखा प्रमुख डिवी कटुवाल, सवारी धनी किसन राई र कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



