
पूर्णपुष्टि, असोज १८ । चाँडबाँडमा बढ्ने सडक दुर्घटनालाई मध्यनजर गर्दै गाईघाटमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धि कृत्रिम अभ्यास गरिएको छ । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नं. ५ हेडक्वाटरको आयोजना र जिल्ला प्रहरी कार्यालय उदयपुरको सहकार्यमा त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा बसपार्कमा अभ्यास गरिएको हो ।
अभ्यासमा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठक्कर खाएको दृश्यको पुनर्निर्माण गरिएको थियो । स्थानीयको सूचनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र एम्बुलेन्स घटनास्थलमा पुगेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई एम्बुलेन्समार्फत नजिकैको स्वास्थ्य चौकीमा पठाइएको थियो भने मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाईएको थियो । प्रहरीले गरेको सूक्ष्म अनुसन्धानबाट मोटरसाइकल तीव्र गतिमा रहेको खुलेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले दुर्घटना कुनै पनि सूचना नदिई आउने विपद् भएको बताए । उनले दुर्घटना भएपछि तत्काल उद्धार कार्य भए व्यक्तिको जीवन बचाउन सकिने बताउँदै उदयपुर जिल्ला सडक दुर्घटनाको हिसाबले अत्यन्त जोखिममा रहेको समेत बताए । प्रजिअ घिमिरेले दुर्घटनाका कारणहरू बारे चर्चा गर्दै मानवीय क्रियाकलाप, चालकको लापरवाही, तीव्र गति, लेन पालना नगर्नु, ओभरलोड, सडकको अवस्था र यान्त्रिक समस्या प्रमुख रहेको बताए । उनले यात्रु, चालक र यातायात व्यवसायीहरूलाई सचेत रहन आग्रह गरे । दशैंमा यात्रु र यातायातको चाप बढ्ने भएकाले यो महत्वपूर्ण समयमा कृत्रिम अभ्यास गरिएको र यसबाट सबैलाई महत्वपूर्ण जानकारी प्राप्त भएको उनको भनाइ थियो ।
कार्यक्रममा पशुपति प्रसाद गणका प्रमुख सेनानी शिवप्रसाद वाग्ले, सशस्त्र प्रहरी उपरीक्षक सरोज सिंह बस्नेत र उपअनुशासन निर्देशक कुमार बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । नेपालमा वार्षिक करिब २,५०० जनाको सडक दुर्घटनामा ज्यान जाने तथ्यांक रहेको र उदयपुर पनि उच्च जोखिममा रहेकाले यो सचेतनामूलक कृत्रिम अभ्यास आयोजना गरिएको आयोजकले जनाएको छ । 







