
पूर्णपुष्टि/मंसीर १ गते ।
उदयपुर–रौतामाई गाउँपालिकालाई भौतिक संरचना निर्माण गरी सरकारी कामकाजका लागि व्यवस्थित बनाउनका लागि स्थानीयले जग्गादान गरेका छन् ।
गाउँपालिकाको केन्द्र भुट्टारमा स्थानीय १६ जनाले रोपनीको ३ देखि ५ लाख पर्ने जग्गा संयुक्तरुपमा १० रोपनी ९ आना जग्गादान गरेको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । जग्गादाताहरु विष्णुकुमारी मल्ल ठकुरी, हेमबहादुर रास्कोटी, प्रेमकुमारी ज्यू ठकुरी, बन्नताकुमारी रास्कोटी, मेघबहादुर ज्यू ठकुरी, पवित्रा कुमारी शाही, बालकुमारी रास्कोटी, तेजबहादुर शाही, मिथुला मल्ल, पवित्रा ठकुरी, हरीकुमार ज्यू ठकुरी, खड्गकुमारी दाहाल, गायत्रा दाहाल, प्रकाश ज्यू ठकुरी, विकास ज्यू ठकुरी, सनकुमारी मल्ल र पष्पबहादुर शाहीले जग्गादान गरेका हुन् । उनीहरुले शुक्रबार सदरमुकाम गाईघाट स्थित जिल्ला मालपोत कार्यालयमै पुगेर गाउँपालिकाको नाममा जग्गादान पास गरिदिएका थिए ।
जग्गादाता सनकुमारी मल्लले बाबुबाजेले आज्र्यको जग्गामा छोरानातीका लागि राम्रा सरकारी संरचना बनोस् र आफ्नो ठाउँको विकास होस् भन्नाको खातिर जग्गादान गरिएको बताए । अर्का जग्गादाता हेमबहादुर रास्कोटीले सरकारी भौतिक संरचना निर्माणका लागि जग्गादान गरिएको बताए ।
अध्यक्ष खड्काले हाल दानबाट प्राप्त भएको जग्गा र थप दान आउनसक्ने जग्गा र केही खरिद गरेर गाउँपालिकाको लागि विभिन्न भौतिक संरचनाह निर्माण गरिने बताए । संरचनाका लागि ६० रोपनी आवश्यकता देखिएकोमा ३५ देखि ४० रोपनीसम्म जग्गा दानको रुपमा नै प्राप्त हुने बचन पाएको बताउदै उनले जनताको सेवा सुविधालाई ध्यानमा राखी गाउँपालिकाको कार्यालय भवन तथा स्वस्थ्य, सुरक्षा, कृषि लगायतका सबैखाले सरकारी संरचना निर्माण गरिने बताए ।