
पूर्णपुष्टि, असार २५ । गैरकानुनी रुपमा सुन ल्याएको आरोपमा बैदेशिक रोजगारबाट फर्किएका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा सुन ल्याउने १२ जनालाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा २५ वर्षीय रामदेव महरा, २४ वर्षीय धर्मदेव यादव, २३ वर्षीय धर्मप्रसाद मुराउ, ३४ वर्षीय पिधी पञ्जियार, ३६ वर्षीय लालबहादुर वली, २७ वर्षीय किसुनलाल साहु तेली, ३५ वर्षीय विनोदकुमार शाह, २२ वर्षीय आशाराम यादव, २८ वर्षीय रामेश्वर शाह, लेलेन्द्रकुमार राउत, २३ वर्षीय देवनारायण यादव र ५६ वर्षीय गुमिक शाह रहेका छन् ।
आईतबार बिहान १० बजे कतारबाट नेपाल आएका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका उनिहरुको साथबाट स–साना परिमाणका सुनका गहना बरामद भएको थियो । प्रहरीका अनुसार उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुनलगायत कारोबार गरेको देखिएको छ ।
वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई भरिया बनाएर सुन तस्करी हुने गरेको प्रहरीले बताएको छ । तस्करी गर्नेहरुले ५–१० हजार रुपैयाँ दिएर वा होटलमा निशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बोकाउने गरेको प्रहरीको दाबी छ । श्रमिकलाई भरिया बनाएर सुन तस्करी गर्ने गिरोहको पनि पहिचान भईसकेको प्रहरीले दाबी गरेको छ ।
