
पूर्णपुष्टि, साउन १४ । गोरखाको धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसेफाँटमा गएको पहिरोमा परेका पाँच जनामध्ये चार जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार सुलाल कान्छा गुरुङ, उनका छोरा जित बहादुर गुरुङ, बुहारी कान्छी गुरुङ र रमेश गुरुङको शव भेटिएको हो।
कान्छी गुरुङको शव गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित त्रिशूली नदी किनारमा आइतबार फेला परेको थियो। प्रारम्भिक अनुसन्धानपछि शव गोरखा अस्पताल लगिएको र पहिचान गरिएको डीएसपी श्रेष्ठले बताए। सुलाल कान्छा गुरुङ र जितबहादुर गुरुङको शव पहिरोले पुरेको घरभन्दा २० मिटर तल फेला परेको डिएसपी श्रेष्ठले बताए। त्यस्तै, रमेश गुरुङको शव पहिरोले घर बगाएको ठाउँभन्दा ३० मिटर तल भेटिएको छ। पहिरोमा परेका पाँच जनामध्ये एक जनाको अझै खोजी भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए।
