
पूर्णपुष्टि, जेष्ठ २४
मगर गोहीको आक्रमणमा परी चितवनमा एकजना युुवाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२५ बस्कट्टा बस्ने अन्दाजी ३५ वर्षका छन्नुराम बोटेको ज्यान गएको हो । आज भरतपुर–२४ ध्रुवघाट क्षेत्रमा गोहीले बोटेलाई आक्रमण गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज भएर बहने राप्ती नदी किनारमा बोटे गैरकानुनी रूपमा रातिको समयमा माछा मार्न जाँदा गोहीले आक्रमण गरेको अनुमान निकुञ्जले गरेको छ ।
निकुञ्जले राप्ती र नारायणीमा माछा मार्न लाइसेन्स अनिवार्य गरेको छ । वैशाखदेखि असार मसान्तसम्म भने माछाको प्रजनन् तथा भुरा हुर्काउने समय भएकोले माछा मार्ने लाइसेन्स प्राप्त व्यक्तिलाई समेत माछा मार्न निषेध गर्ने गरिएको छ ।
नदी आसपासमा बसोबास गर्ने बोटे समुदाय भने आफ्नो परम्परागत पेशा नै माछा मार्ने रहेको भन्दै लुकीछिपी नदीमा पुग्ने गरेको निकुञ्जले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा हालसम्म निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा १२ जनाको वन्यजन्तुको आक्रमणबाट ज्यान गएको छ ।
