Monday, May 11News That Matters

घरमा कुकुर पाल्न अनुमति लिनु पर्ने

पूर्णपुष्टि, असार ८

काठमाण्डाँैमा कुकुर पाल्न अनुमति लिनु पर्ने भएको छ । काठमाडौँ महनगरपालिकाले अब कुकुर पाल्ने सम्बन्धमा नयाँ नियम लगाउन आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा नयाँ व्यवस्था गरेको हो ।

घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडि दिने प्रवृत्ति दिनुदिन बढ्दै गएको र सडकमा दुर्घटनादेखि जथाभावी रूपमा फोहोर हुने भएकाले महनगरपालिकाले यस्तो नयाँ व्यावस्था गरेको जनाएको छ ।

स्थानीय तहमा दर्ता नगरी कुकुर पाल्न नपाउने भएको छ । महानगरपालिकामा कुकुर पाल्ने सोख भएका मानिसले पहिला आफू रहेको वडा कार्यालयमा कुकुरको विवरण दर्ता गरेर मात्र घरमा कुकुरलाई स्वागत गर्नुपर्ने व्यवस्था गरिएको छ । कुकुर पालिरहेकाले पनि वडा कार्यालयमा दर्ता गर्नु पर्ने भएको छ ।

महानगरपालिकालाई नमुना र सभ्य सहर बनाउने अभियान अन्तर्गत आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।

कुकुर पाल्न नसकेर छाडा छोड्ने, बाटोमा मलमूत्र त्याग गराउने लगायतका समस्या समाधान गर्न दर्ता गरेर मात्रै कुकुर पाल्नु पर्ने नयाँ प्रावधान तय गरिएको महानगरपालिकाले जनाएको छ ।

कुकुर पाल्न तिर्नुपर्ने शुल्क, त्यसको स्वास्थ्य सावधानी कसरी अपनाउने भन्ने कुराको टुङ्गो भने छिट्टै लगाउने जनाइएको छ । साथै एक घरमा कतिवटासम्म कुकुर पाल्न पाइने, त्यसको पालन पोषण कसरी गर्ने लगायतका विषयमा समेत कार्यविधि बनाइनेछ ।

कुकुर पालेबापतको शुल्क भने महानगरपालिकाको नयाँ बजेटमा तय हुनेछ । असार १० भित्र महानगरपालिकाको नयाँ बजेट प्रस्तुत हुनेछ ।