
भोटराज राई/उदयपुर, असार १७ ।
गरिबीको कारण मजदुरी गर्न काठमाडौं पुगेका थिए प्रदिप रोका । तर, त्यहाँ पैसा कमाउनुको साटो चारतल्लाबाट खसेर ढाडको मेरुदण्ड भाँचियो । यो घटना भएको ११ वर्ष वित्यो तर, पिडा अझैपनि ज्यूका त्यूँ छ उनको जीवनमा । उनले पिडादायी र कष्टपूर्ण जीवन बाँचिरहेका छन् ।
उदयपुरको रौतामाइ गाउँपालिका–४ मालबासेका २९ वर्षीय प्रदिप अहिले जोरपाटी (काठमाडौं)को अर्थपेटिक हस्पिटलमा भर्ना भएका छन् । तर, उपचार खर्चको अभावले उनी भौतारिरहेको उनका भान्जा उमेश बर्मशाखाले बताए । भान्जा उमेशका अनुसार गरिबीका कारण उपचारखर्च जुटाउन नसक्दा राम्रो उपचार गराउन सकेका छैनन् । दिनानुदिन उनलाई व्यथाले च्याप्दै गएको छ । पिडासहदै घरमै बस्दै आएका प्रदिप ब्याथाले पछिल्लो समय बढि नै च्यापेपछि अस्पतालमा गएका हुन् ।
प्रदिपको भिडियो कथा : https://www.youtube.com/watch?v=_7_5YzMTpgM
विवाह गरेको तीन महिना राम्रो नवित्दै यस्तो घटनामा परेका प्रदिपलाई बाबुआमा र दाजुभाइलेसमेत छुट्याईदिएपछि कम्मरमनी नचले पनि दुईहात टेकेर काममा घोटिए । सार्की समुदायको भएपनि लुगा सिलाउन सिकेर मेसिन चलाएर पनि परिवारको पेट पाल्न घोटिए उनी । घस्रिएरै भएपनि श्रीमती र दुईछोराका लागि दुईचार पैसा कमाउन गाउँघर चहार्नेदेखि लिएर घरमै बोलाएर लुगा सिलाउने काम गर्दथे । कम्मरमुनीको भाग दुबैखुट्टा नचल्ने भएपनि बसाईमा पनि अप्ठेरो सहदै पनि काम गरिरहे । भान्जा उमेशका अनुसार त्यहि खटाईको कारण नै उनको मेरुदण्डको घाउँ बल्झिएर थला परेका हुन् यतिबेला । तर, उपचार खर्चको अभावले उनी छटपटिरहेका छन् ।
विरामी रोकाका अनुसार २०६५ सालमा काठमाडौमा घर निर्माणको काममा मजदुरी गर्ने क्रममा चारतला माथिबाट खसेर ढाडको मेरुदण्डम भाँचिएको थियो । जसोतसो उपचार त भयो, तर कम्मरदेखि तलको भाग चल्दैन । उपचारबाट तल्लो भाग नचलेपछि ह्वीलचियर चढेर घर फर्किनु परेको थियो । ठूलो अप्रेशन गरेर नसा सक्रिया पार्न र पुरानै अवस्थामा आउनलाई पाँच लाख बढि पैसा आवश्यक पर्ने अस्पतालले जनाएको भएपनि गरिबीको कारण त्यतिबेला राम्रो उपचार गर्न नसकेको रोकाले बताए । त्यतिको उपचार पनि ऋण काढेरै गरिएको थियो ।

“पैसा भएको भए, म त्यतिबेला नै राम्रो हुन्थ्ये । विस्तारै पैसाको जोहो गरेर उपचार गरौंला भन्ने साचियो तर कहिले सोच पुरा भएन” रोकाले भने “तर, एक्कासी यसरी थला परियो”
उनलाई गाउँले एक दाजुले सिलाई सीप सिकाइदिएका थिए भने भेनाजुले सिलाई मेसिन किनिदिएका थिए । श्रीमती र आफु मिलेर जीवनलाई जसोतसो धानिरहेका थिए ।
यतिबेला उपचार खर्चको ठूलो अभाव परेको उनले बताए । पाँचदेखि दशलाखसम्म खर्चको आवश्यकता पर्ने भएपनि घरबाट जुटाउन सक्ने अवस्था नरहेकाले उहाँले सहयोगको याचना गर्नुपरेको उनले बताए ।
“सहयोगी मनहरुले मलाई सकेको सहयोग गरिदिनुहोस् । म बाँच्न चाहन्छु । मेरा श्रीमती र दुई नाबालक छन्, तिनीहरुकै लागि पनि बाँच्न जरुरी छ ।” आँशुको धारा बगाउदै प्रदिपले अस्पतालको ओछ्यानबाटै अनुरोध गरे ।