
पूर्णपुष्टि, पुष ४ । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ७२ हजार भन्दा बढी पर्यटक भ्रमणबाट १० करोड ६७ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार भ्रमण गर्ने पर्यटकहरूमध्ये ३३ हजार विदेशी, ३२ हजार नेपाली र करिब ६ हजार सार्क मुलुकका नागरिक रहेका छन् ।
यसैबीच, निकुञ्जले घडियाल प्रजनन केन्द्र कसरामा हुर्काएका ४१ घडियाललाई राप्ती नदीमा छाडेको छ । साथै, निकुञ्जको पश्चिम क्षेत्र नवलपुरमा रहेका गैँडाहरूलाई नारायणी नदीको बाढीले बगाएर भारततर्फ लैजानसक्ने जोखिम भएकाले पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ । गैँडा स्थानान्तरणको पूर्वतयारीका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, स्थानीय जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भएको छ ।
