Thursday, July 2News That Matters

चिनीयाँ गाडीले नेपालसम्म ढुवानी गर्न थाल्यो

पूर्णपुष्टि, असोज १८

चिनियाँ मालवाहक गाडीले आजदेखि नेपालसम्म नै सामान ढुवानी गर्न थालेका छन् । चिनियाँ गाडीले चीनको स्वशासित क्षेत्र तिब्बतको पाङसिङबाट सिधै नेपालसम्म सामग्री आयात गर्न थालेका हुन् ।
कोरोनाले यसअघि चिनियाँ गाडीले मितेरी पुल पर नै सामान झारेर फर्कने गरेका थिए । जसका कारण सामान लोड–अनलोड गर्न झन्झट हुने, लामो समय लाग्ने र सामान पनि कम आयात हुँदै आएको थियो ।

आज पाँच वटा चिनियाँ गाडीले नेपालको भूभागमै सामान ल्याएर अनलोड गरेको रसुवा भन्सारले जनाएको छ । यसले सामान आयातमा वृद्धि हुने आशा गरिएको छ । यसअघि दैनिक चार वटा गाडी आउने गरेकोमा आज पाँच वटा आएको हो । अब निरन्तर रूपमा आयात बढ्ने जनाईएको छ ।

रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको चिनियाँ पक्षले पीसीआर परीक्षण सुरु गरेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले नाकामा कार्यरत कामदार तथा चालकको सात/सात दिनमा पीसीआर परीक्षण गर्नेछ ।
नाकामा अहिले चालक र कामदार गरी ४९ जना नेपाली कार्यरत छन् । सुरुमा चिनियाँ पक्षले नेपाललाई पीसीआर परीक्षण गर्न आग्रह गरेको थियो । नेपालले प्रत्येक हप्ता जाँच गर्न नसकिने बताएपछि चीन आफैले परीक्षण गर्न थालेको हो ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामान, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ ।

यस्तै नेपालबाट बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।