Monday, June 16News That Matters

चुरे तराई कार्यक्रम राम्रो तर, पर्याप्त नभएको गुनासो

पूर्णपुष्टि/कात्तिक २८ गते ।

उदयपुर–राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमले धेरै फाईदा पुर्याएको उपभोक्ताहरुले बताएका छन् । जिल्ला वन कार्यालय उदयपुरद्वारा आयोजित तथा सुशासनका हिमायती ( जि क्यू ) ले संयोजन गरिएको सार्वजनिक सुनुवाईमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम विकास समितिद्धारा उदयपुरमा सञ्चालन गरिएको कार्यक्रमहरुले फाईदा पुर्याएको उपभोक्ताहरुले बताएका हुन् ।

उक्त कार्यक्रमले विशेष गरी बन संरक्षण, खोलानदि, कुवा संरक्षणका जनचेतना जगाएपछि भुक्षयमा कमी, भेलबाढी पहिरोको समस्यामा कमी आएको उपभोक्ताहरुले बताए । चुरे क्षेत्रमा भएका बोटविरुवाको संरक्षण तथा खाली ठाउँमा बृक्षरोपण गरिएकाले हरियाली थपिनुका साथै माटो बलियो भएको बताए ।

तरपनि उदयपुरमा पर्याप्त कार्यक्रम भने नभएको उपभोक्ताहरुको गुनासो छ । उनीहरुले बोटविरुवाको संरक्षणमा भने चरिचरण चुनौती रहेको पनि बताएका छन् ।

कार्यक्रममा जिल्ला वन कार्यालय उदयपुर, जिल्ला भू–संरक्षण कार्यालय उदयपुर, जिल्ला कृषि विकास कार्यालय उदयपुर र जिल्ला पशु सेवा कार्यालय उदयपुरले आ आप्mना कार्यप्रगति प्रस्तुत गरेका थिए । उनीहरुले गत आर्थिक वर्षमा भए गरेको कार्यक्रम तथा योजनाहरु र चालु आर्थिक वर्षमा हुन लागेका कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।
उक्त कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले सहभागिले उठाएका टिकाटिप्पणी, सल्लाह, सुझावका जवाफ दिएका थिए ।

त्रियुगा नगरपालिकाका वडा नं. १० का वडाध्यक्ष प्रकास खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला वन कार्यालय उदयपुरका निमित्त कार्यालय प्रमुख बासुदेब झाले कार्यक्रमको बारेमा जानकारी दिएका थिए । उनले नयाँ कार्यक्रमका लागि ७६ लाख बजेट आएको जानकारी दिए । भू–संरक्षण कार्यालय उदयपुरका प्रमुख बद्रिराज ढुंगानाले १ करोड १५ लाखको बजेट रहेको जानकारी गराए ।

उनले उदयपुरको कुल भु–भाग मध्ये ६१.५ प्रतिशत चुरे क्षेत्र रहेको जसमा दर्जनौ खोला खहरे भएता पनि राज्यले कम लगानी गरेको बताए । चुरेका समस्याहरु बढी र लगानी कम भएकाले भने जस्तो उपलब्धी हाँसिल गर्न नसकिएको उनले बताए ।

त्यसैगरी कृषि विकास कार्यालय उदयपुरको चुरे संरक्षणको कार्यक्रम अन्र्तगत करिब २५ लाख मात्र बजेट रहेको बाली विकास अधिकृत रामसेवन ठाकुरले जानकारी दिए भने पशु सेवा कार्यालय उदयपुरका इन्द्रनारायण चौधरीले यो चालु आर्थिक वर्षमा बजेट नआएको जानकारी दिए ।