
पूर्णपुष्टि, माघ ३ । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बेल्टार शिर्वानीमा भूमिगत सिंचाई आयोजना अन्तर्गत एक करोड रुपैयाँको लागतमा डिप बोरिङको काम सुरु भएको छ । बुधबार नगर प्रमुख कालुमान लामाले आयोजनाको शिलान्यास गर्दै यस क्षेत्रका किसानहरूको सिंचाई समस्या समाधान गर्ने बताए ।
कटुन्जे देउराली टोलमा सुरु भएको यो आयोजना स्थानीय युवा दिपराज बस्नेतको सक्रिय पहलमा कार्यान्वयन भएको हो । मेयर लामाले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि क्षेत्रमा विशेष जोड दिएको र चुनावी प्रतिबद्धताहरू क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
यस आयोजनाबाट स्थानीय किसानहरूले सिंचाईको स्थायी समाधान पाउने भएकाले उनीहरू अत्यन्त उत्साहित छन् । यसले कृषि उत्पादनमा वृद्धि गर्नुका साथै स्थानीय किसानहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।