Monday, May 4News That Matters

महिला दुर्व्यवहार आरोपमा चौदण्डीगढी नगरपालिका ९ का वडाअध्यक्ष राउत पक्राउ

पूर्णपुष्टि, २४ असार ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का वडाअध्यक्ष प्रकाश राउतलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महिलामाथी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय वेल्टारले शनिबार राउतलाई पक्राउ गरेको हो । सूर्योदय सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने छिडी खोलामा अवैध रुपमा ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी स्थानीय सुनिता श्रेष्ठलाई हातपात र दुर्व्यवहार गरेको आरोपमा राउतलाई नियन्त्रणमा लिइएको उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए ।

वडाध्यक्ष राउतले शुक्रबार खोलामा एस्काभेटर र टिपर नै प्रयोग गरेर अवैध रुपमा गिट्टी निकासी गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न श्रेष्ठ त्यहाँ पुगेकी थिइन् । सोही क्रममा विवाद हुँदा राउतले हातपात गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

वर्षाको समयमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न कानुनले रोकेको, त्यसमाथि सामुदायिक वन क्षेत्रभित्र पर्ने खोलाबाट गिट्टी निकाल्न मिल्दैन भन्दा आफूमाथि हातपात गरेको श्रेष्ठको आरोप छ ।

वडाध्यक्ष रातउले भने आफूले कसैलाई हातपात र दुर्व्यवहार नगरेको बताएका छन् । वडामा सडक निर्माणको काम चलिरहेको र गिट्टी अभाव हुन नदिन खोलामा पस्नु परेको भन्दै उनले हातपात नगरेको दाबी गरेका छन् । वर्षाका कारण हिलाम्मे भएका गाउँका बाटो पुर्न पनि गिट्टी झिक्नु परेको उनको भनाइ छ ।