
पूर्णपुष्टि, माघ ७ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा छैटौं संस्करणको मेयर कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नगरको वडा नम्बर ६ स्थित कालिका माध्यामिक विद्यालयको मैदानमा हुने उद्घाटन खेलमा वडा नम्बर ९ र वडा नम्बर ३ बीच प्रतिस्पर्धा हुने छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरका अनुसार प्रतियोगितामा नगरका १० वडामध्ये वडा नम्बर १ बाहेक ९ वटा वडाले सहभागिता जनाउँदैछन् । आजदेखि सुरु हुने प्रतियोगिता माघ १२ गतेसम्म चल्नेछ ।
विजेताले नगद ५५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा दैनिक म्यान अफ दि म्याच घोषणा गरिनुका साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने छ ।
यस वर्षदेखि नगर खेलकुद विकास समितिले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई छनोट गरी माघ १५ गतेदेखि सञ्चालन हुने दशौं नारदमुनी गोल्डकप फुटबल प्रतियोगितामा बसाहा क्लबका तर्फबाट खेल्ने अवसर प्रदान गर्नेछ । यसका लागि उत्कृष्ट खेलाडी छनोट गर्न छुट्टै समिति गठन गरिएको छ । नारदमुनी गोल्डकप उदयपुर जिल्लाकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिताको रूपमा चिनिन्छ ।