पूर्णपुष्टि/कात्तिक २५ गते ।
उदयपुर–चौदण्डीगडी नगरपालिका ४ बसाहा स्थित नारदमुनी रंगशालामा सन्चालन भएको छैठौं नारदमुनी गोल्डकपको शुक्रबार भएको फाईनल खेलमा ब्वाईज युनियन काठमाडौंले रुपन्देही ११ लाई ० को विरुद्ध २ गोलले पराजित गर्दै उपाधि चुमेको छ ।
उपाधि चुमेसंगै विजेता ब्वाईज युनियनले दुईलाख नगद पुरस्कारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता रुपन्देही ११ ले एकलाख नगद पुरस्कारसहित शिल्ड र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ ।
खेलको २४ औं मिनेटमा ब्वाईज युनियनका जर्सी नम्बर ७ का विदेशी खेलाडी अबाले पहिलो गोल गरेका थिए । ३६ औं मिनेटमा सोही टिमका जर्सी नम्बर ११ का आशिक थापाले विपक्षी खेलाडीका डी एरीयाको फललाई भरपुर सदुपयोग गर्दै पेनाल्टी सुटआउटलाई गोलमा परिणत गरे । ब्वाईज युनियन २ र रुपन्देही सुन्यमा टुंगिएको पहिलो हाफपछि कुनै पनि गोल हुन सकेन । निर्धारित ८० मिनेटको खेलमा रुपन्देहीको तर्फबाट गोल गर्न नसकेपछि सुन्यमै चित्त बुझाउनु पर्यो ।
खेलको म्यान अफ दि म्याच ब्वाईज युनियनका जर्सी नम्बर १६ का सौजन राई घोषित भए । उनी नगद ६ हजारसहित पुरस्कृत भए । उत्कृष्ट खेलाडी रुपन्देहीका जर्सी नम्बर १० का दिपक राइ घोषित भए । उनी पनि ५ हजार नगदसहित पुरस्कृत भए । सर्बाधिक गोलकर्ता ब्वाईज युनियनका जर्सी नम्बर १८ का विदेशी खेलाडी मेडो भए । नगद ५ हजारले पुरस्कृत उनले गोल ३ गोल गरेका थिए ।
उपाधी विजेता टिमलाई प्रमुख अतिथि चौदण्डीगडी नगरपालिकाका मेयर खगेन्द्र राई र मुल आयोजक समितिका संयोजक भिम बान्तवाले र दोस्रो पुरस्कार विशेष अतिथि सशस्त्र प्रहरी त्रियुगा गुल्म गाईघाटका प्रमुख डिएसी पुरनचन्द भट्ट र आयोजक क्लवका अध्यक्ष शेखर राईले नगद पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गर्नुभयो ।
रुपन्देही ११ ले चर्च ब्वाईज काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने ब्वाईज युनियन काठमाडौंले डिएफसी मोरङलाई पराजित गरी फाईनलमा प्रवेश गरेको हो ।
बसाहा क्लवको आयोजना तथा चौदण्डीगडी नगरपालिकाको संयोजन र गज्जबको चाउचाउको प्रायोजनमा गत कात्तिक १७ गतेदेखि सन्चालन भएको गोल्डकममा विभिन्न ८ टिमले भाग लिएको आयोजक क्लवका अध्यक्ष शेखर राईले बताउनुभयो ।
एक ऐतिहासिक व्यक्ति प्रजातान्त्रिक योद्धा नारदमुनी थुलुङको स्मृतिमा २०६९ सालदेखि थालिएको गोल्डकपको लोकप्रीयता बढ्दै गएको र विगतभन्दा यसवर्ष अझ व्यवस्थित र भव्यरुपमा सम्पन्न भएको मूल आयोजक समितिका संयोजक भिम वान्तावाले बताउनुभयो ।