Sunday, June 28News That Matters

जमीनमा महिलाको स्वामित्व बढ्यो

पूर्णपुष्टि, फागुन २४

२०६१ सालपछि राजस्व छुटमा घर जग्गा आफ्नो नाममा हुने महिलाको संख्या ६ लाख ५२ हजार ८ सय ६६ पुगेको छ ।

सरकारले आर्थिक वर्ष २०६१/०६२ देखि महिलाको नाममा रजिष्ट्रेसन पास गर्दा लाग्ने शुल्कमा छुट दिने नीति लिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङले सम्पत्तिमा महिलाको स्वामित्व बढाउने सरकारको नीति प्रभावकारी भइरहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ग्रामीण भेगमा ८ करोड ८० लाख ५१ हजार ७ सय ४६ र शहरी क्षेत्रमा ९२ करोड १४ लाख ५१ हजार ५ सय ६६ रुपैयाँ राजस्व छुटमा महिलाले घरजग्गाको स्वामित्व लिएको विभागको तथ्यांकमा छ ।

त्यस्तै, आव २०७५/०७६ मा ग्रामीणमा १७ करोड ८७ लाख ८३ हजार ५ सय ३८ र शहरी क्षेत्रमा ९६ करोड २६ लाख ८१ हजार ७ सय ८२ रुपैयाँ छुट भएको तथ्यांक छ । आव २०७६/०७७ मा राजस्व छुट बढेर ग्रामीणमा १८ करोड २७ लाख ९० हजार ७ सय ३४ र शहरी क्षेत्रमा १ अर्व ६२ करोड २० लाख २३ हजार ४ सय २३ रुपैयाँ पुगेको देखिएको छ ।

चालु आव २०७७/०७८ को साउन देखि माघ मसान्तसम्म २ अर्ब २३ करोड ७४ लाख ९४ हजार ५९ रुपैयाँ राजस्व छुट लिएर महिलाहरुले घरजग्गाको स्वामित्व लिएका छन् ।

महिलाको नाममा घरजग्गा पास गर्दा २५ प्रतिशत छुटको व्यवस्था छ । एकल महिलाको हकमा ३५ र हिमाली क्षेत्रको हकमा ५० प्रतिशत छुट हुने कानुनी व्यवस्था छ ।

नेपालभर २ करोड ९१ लाख ५६ हजार ३ सय १४ जनाको नाममा जग्गा धनीपुर्जा छ ।