दमन राई,
खोटाङ–भूमीगत होस् या खुला राजनितीमा स्थानीयको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग रहन्छ । स्थानीयको सहयोगविना शासक या शासनका विरुद्धमा हुने कुनैपनि आन्दोलन सफल हुन सक्दैन ।
राणा विरोधी आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, शसस्त्र जनआन्दोलन लगायतका आन्दोलनमा घरैमा बसेर हजारौं स्थानीयले “जोखिम” मोलेर सहयोग गरे । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा जोखिम मोलेर तत्कालिन भूमीगत आन्दोलनकर्मीलाई सहयोग गर्नेमध्येका एक हुन् खोटाङको लामीडाँडा गाउँपालिका–६ हौंचुर चापखर्ककी ९७ वर्षीय झिमामायाँ गुरुङ ।
प्रशासन र प्रहरीले लखेटेका नेतालाई उसबेला आश्रय दिनु चानचुने कुरा थिएन । र, हत्तपत्त त्यस्तो जोखिम मोल्न जो कोही तयार हुदैनथे । राजनैतिक चेतको विकास पनि भएको थिएन । तर, गुरुङले जिल्लामा पञ्चायत विरुद्धको भूमीगत आन्दोलनमा लागेका कैयौं आन्दोलनकर्मीलाई सेल्टर दिएकी थिईन् । लेखपढ नभए पनि सामाजिक रुपान्तरणका सवालमा मरिमेट्ने गुरुङलाई वामपन्थी नेताले “सेल्टरदाता”कारुपमा मान्छन् ।
विशेषगरी शासक र शासनका विरुद्धमा असहमती जनाउँदै भूमीगत बनेका जिल्लाका राजकुमार अथक, रमेश राई, बाबुराम राई, बबी चामलीङ लगायतका वामपन्थी नेतालाई उनले मतानमा मकैको खोस्टामा लुकाएर सहयोग गरेकी थिईन् । तत्कालिन प्रहरी र प्रशासनको नजरबाट सुरक्षित, एकान्त र हत्तपत्ता कोही नपुग्ने भएकाले पनि भूमीगत नेताले २०३९ सालताका गुरुङको घरलाई सेल्टर बनाएका थिए । उनीहरुमध्ये बबी चामलीङ हाल एमालेका जिल्ला अध्यक्ष एबं समन्वय समितिका प्रमुख छन् । रमेश राई संघीय समाजबादी फोरमका पोलिटव्यूरो सदस्य छन् । ‘लुकेर बसेका नेतामध्ये अहिले कोही एमालेका, कोही माओबादीका ठूला नेता भए,’ गुरुङ भन्छिन्, ‘भूमीगत नेतालाई आश्रय दिएको चाल पाएका भए सर्वस्वहरण खेप्नु पर्ने थिएछ ।’
१९७८ सालमा जन्मिएकी झिमामायाँ क्रान्तीकारी स्वभावकी थिईन् । व्यवस्थाका विरुद्धमा लडेका नेतालाई उनले खाना र आवासको व्यवस्था मिलाएर हौसला प्रदान गरे । सुरक्षित आश्रयका कारण भूमीगत नेताले उनको घरमा दस्तावेज, माओत्सेतुङ, काल माक्र्स लगायतका कम्यूनिष्ट नेता सम्वन्धी पुस्तकहरु लुकाएर राख्ने गरेका थिए । प्रहरी आउने थाहा भए आउनु लगावै पुस्तक जलाउन भनिएको उनका छोरा मोहन गुरुङ बताउँछन् । ‘म केटाकेटी अवस्थामा थिएँ, प्रहरीले थाहा पाउनु अगावै पुस्तक र दस्तावेज जलाइदिनु भन्थे,’ हाल नयाँशक्तीका नेता रहेका मोहनले भने, ‘त्यो पुस्तक प्रहरीले भेटेको भए हाम्रो सर्वस्वहरण हुन्थ्यो छ, आमा–छोरालाई जेलमा हालिन्थ्यो या गोली नै हानिन्थ्यो होला ।’ सुरक्षित सेल्टरकै कारण २०४२ सालमा अखिल एकता पाँचौंको पाँचौं जिल्ला सम्मेलन हौंचुरपोखरीमा गरिएको थियो । इन्द्रेणीपोखरीमा गर्ने भनिएको सम्मेलन प्रशासनले चाल पाएपछि रातारात झुक्याएर हौंचुरपोखरीमा सारिएको गुरुङ वताउँछन् ।
समाजको क्रान्तीकारी रुपान्तरणका लागि महिला मुक्ती आन्दोलनमा उठेका सबै खाले अभियानमा आफुलाई समाहित गर्दै निरंकुसता विरोधी क्रान्तीकारी योद्धालाई आश्रय स्थल उपलव्ध गराएर महिला आन्दोलनमार्फत देश र जनताको पक्षमा पु¥याएको योगदानको मूल्यांकन गरी झिमामायाँलाई एमाले निकट अखिल नेपाल महिला संघले ६५ औं स्थापना दिवसको अवशर पारेर २०७३ साल फागुन २४ गते अभिनन्दन गरेको थियो । पञ्चायती व्यवस्थाका विरुद्ध भूमीगत नेतालाई हौसना स्वरुप संरक्षण दिएकी उनी बुढेसकालमा पनि सक्रिया छिन् । अनुहार चाउरिए र केस पाके पनि उनको श्रवन शक्ती अझै पनि बलियो छ । बोली पनि उत्तिकै तगडा छ ।
पञ्चायतकालिन नेता बिरेन्द्रकेसरी पोखरेल, पर्शुराम राई, दिपबहादुर राई, रत्न राई, केदार राईदेखि हालका एमाले नेता पर्शुराम कार्की, बिशाल भट्टराई लगायतसँग उनी परिचित छिन् । उनका छोरा मोहन पनि वामपन्थी राजनिती हुँदै हाल नयाँ शक्तीको राजनितीमा क्रियासिल छन् । मुलुकमा बेला–बेलामा शासन र शासक परिवर्तन भए पनि जनताको प्रबृत्तिमा कुनै परिवर्तन नआएको झिमामायाँको दुखेसो छ ।