पूर्णपुुष्टि/उदयपुर, मंसीर १५ गते ।
दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा उदयपुरमा बम विष्फोटका घटना बढेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
शनिबार (भोली) कांग्रेस र बाम गठबन्धनको एकैदिन सदरमुकाम गाईघाटमा हुन लागेको आमसभा समेतलाई मध्येनजर दिदै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको हो । बाम गठबन्धनको आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने नेपाली कांग्रेसको आमसभालाई कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आमसभा लगायत निर्बाचनको निम्ति सुरक्षा निकायका सबै अंगहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विशेष प्रहरी र म्यादी प्रहरीलाई सुरक्षा उच्च सतर्कताका लागि खटाइएको स्थानीय प्रशासनले जनाएको छ । संयुक्त सडक गस्ती, ठाउँठाउँमा सुरक्षा चेकजाँचका साथै उम्मेदवार तथा चुनावी कार्यक्रमलाई सुरक्षाको व्यवस्था मिलाएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताउनुभयो ।
केहि दिन यता विभिन्न बम विष्फोटका घटना र कांग्रेस उम्मेदवार नारायणबाहदुर कार्की लगायत चारजना गम्भिर घाइते हुने गरी भएको एम्बुस आक्रमण पछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ ।
यसैबीच निर्बाचन विरोधी गतिविधि तथा बम विष्फोटका घटनामा संलग्नको आशंकामा विभिन्न समय र स्थानबाट आठ जना व्यक्तीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा नेकपा माओवादी (विप्लब समुह) का बाबुराम शर्मा सुवेदी, जिला सदस्यहरु पूर्णबहादुर कटुवाल, जानुकामाया तामाङ, कार्यकर्ताहरु योगिन प्रधान, बन्दना खत्री, भरत कार्की, बलबहादुर पुलामी मगर र माओवादी मजदुर पार्टीका केन्द्रिय अध्यक्ष हिमालसिंह राई रहेका छन् । पक्राउ मध्ये अधिकांशलाई सार्बजनिक मुद्दा दर्ता भएको र केहीको अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।