Sunday, February 16News That Matters

जिल्ला सभामा नौटंकी प्रदर्शन

पूर्णपुष्टि उदयपुर, असार ३१ ।

जनताकाबीच उत्साहपूर्वक मनाउनु पर्ने दोस्रो जिल्ला सभा उदयपुरमा आइतबार तरल र खल्लो मात्र भएन नौटंकी नै देखियो । विहान १० बजे निर्धारण गरिएको कार्यक्रम दिउसो अबेरसम्म सञ्चालन नभएपछि आमन्त्रीत अतिथिहरु निरास हुँदै फर्किएका थिए ।

निर्धारित समयमै उपस्थित केही सांसदहरु, प्रमुख जिल्ला अधिकारी, कार्यालय प्रमुख, संघसंस्थाका प्रतिनिधीहरुले १२ ः०० बजेसम्म पर्खेर हेरेपनि कार्यक्रम हुने छाटकाट नदेखेपछि आ आप्mनो गन्तब्यमा लागेका थिए । दिउसो २ बजेसम्म पनि आमन्त्रितहरु खाली हल हेर्दै फर्किने क्रम रह्यो । विहान १० बजे भनिएको जिल्ला समन्वय समितिको सभाहल दिउसो ३ बजेसम्म खाली रह्यो ।

जिल्लाको आठ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६ जना र जिल्ला समन्वय समितिको प्रमख र उपप्रमुख गरी १८ जनाको जिल्ला सभामा गणपुरक सदस्य नपुगेपछि कार्यक्रम सञ्चालन हुन सकेको थिएन । जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले सदस्यहरुसंग बैंठक, छलफल नै नगरी आफु खुसीले गरेकाले यस्तो अवस्था सिर्जना भएको एक सदस्यले बताए ।

गाउँपालिका र नगरपालिकाहरुबाट आएका प्रमुख तथा उपप्रमुखहरु अधिकांश कार्यक्रम स्थलमै नगई बाहिर बाहिर अलमलिएका थिए । गणपुरक सदस्य नपुगेर जिल्ला सभा सञ्चालन गर्न नसकेको जिल्ला समन्वय समितिले बल्लतल्ल ३ बजेपछि भने सदस्यहरु जुटाएर सभा सञ्चालन गरेको थियो । ढिलो गरी सञ्चालन भएको सभा विना उत्साहको थियो ।

भब्यरुपमा कार्यक्रम सञ्चालनको तयारी गरेको आयोजकले बीचमा हल बाहिर र भित्रको ब्यानर खोलिसकेर पुनः लगाएका थिए । जिल्ला सभा जस्तो गरिमामय कार्यक्रम सबैलाई साझा र सहज नभएपछि जिल्ला समन्वय समिति र स्थानीय तहबीच समन्वयको खडेरी देखिएको छ ।

सभामा जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले नीति, बजेट तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर परियारले तयारीको सिलसिला र सदस्यहरु आउनमा ढिला गरेकाले निर्धारण समयमा सञ्चालन गर्न नसकिएको बताउनुभयो ।