
सुनिल राई, गाईघाट ।
पूर्णपुष्टि, माघ ३० । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदहमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुधबार वडा नम्बर १ को आयोजना तथा त्रियुगा नगरपालिकाको वित्तिय सहयोगमा जोगीदहस्थित श्री जनप्रेमी माध्यमिक विद्यालयमा सम्पन्न शिविरमा वृद्धवृद्धा र विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो ।
नेपाल नेत्र ज्योति सङ्घ र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा २१० जना वृद्धवृद्धा र ३१३ जना विद्यार्थी गरी जम्मा ५२३ जनाको परीक्षण गरिएको छ । शिविरका संयोजक डा. राजकुमार यादवका अनुसार ३७ जनामा मोतिबिन्दु, २० जनामा दृष्टिदोष, ३ जनामा मासु पलाएको र २ जनामा आँखा डेढो समस्या फेला परेको छ । मोतिबिन्दु र मासु पलाएका बिरामीहरूको लहानमा निःशुल्क शल्यक्रिया गरिने भएको छ । दृष्टिदोष भएका २० जनालाई चश्मा वितरण गरिएको छ भने १५० जनालाई निःशुल्क औषधि प्रदान गरिएको छ ।
त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले ‘मेयरसँग जनस्वास्थ्य कार्यक्रम’ अन्तर्गत यो शिविर सञ्चालन गरिएको बताए । वडा नं. १ का अध्यक्ष मनोज चौधरीले प्रत्येक वर्ष आँखा जाँच शिविर गर्दै आएको र नागरिकहरूलाई दृष्टिविहीन हुनबाट जोगाउने उद्देश्यले यो कार्यक्रम गरिएको जानकारी दिए ।