
पूर्णपुष्टि, बैशाख २९
पर्सा, पर्साको जगरनाथपुर गाउँपालिकाको एकै वडामा १ सय ७३ जनामा ज्वरो फैलिएको छ । पालिकामा यो भन्दा पहिले नै १० दिनमा ११ जनाको ज्वरोकै कारण मृत्यु भईसको छ ।
जगरनाथपुर गाउँपालिकामा पछिल्लो १० दिनमा ११ जनाको मृत्यु भएको गाउँपालिका स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये ४ जनाले मात्र कोरोना परीक्षण गराएका थिए । मृत्यु हुनेमा ७ जना एउटै टोलका छन् ।
स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्रप्रसाद साहले सोही पालिकाको एकै वडा चिलझपटीमा १ सय ७३ जनालाई ज्वरो आएको बताउनुभयो । साहका अनुसार जिल्लाबाट २५ वटा मात्र भीटीएम गएकाले २५ जनाको स्वाब संकलन गरिएको थियो । ११ जना शंकास्पद बिरामीको कोरोना एन्टिजेन परीक्षण गरिएको थियो जसमध्ये ७ जनामा पोजिटिभ देखिएको साहले जनाए । पीसीआर परीक्षणका लागि स्वाब नारायणी अस्पताल ल्याइएको छ ।
पालिकामा घरैपिच्छे ज्वरो फैलिएपछि मंगलबारदेखि कोरोना परीक्षण थालिएको छ । पछिल्लो १० दिनमा ११ जनाको मृत्यु र सयौँभन्दा बढी ज्वरोका बिरामी देखिएकाले गाउँपालिकाको स्वास्थ्य शाखाले सोमबार जिल्ला प्रशासन कार्यालय, नारायणी अस्पताल र स्वास्थ्य कार्यालयलाई पत्राचार गरी विज्ञ टोली पठाउन अनुरोध गरेको थियो ।
