
पूर्णपुष्टि, जेठ २६ ।
प्रहरीले गाइघाट बजारमा सर्बसाधारणलाइ लाठी प्रहार गरेको भन्दै गाइघाटका ब्यापारीहरूले गुनासो गरेका छन् । उनीहरूले घरअगाडी बसेका सर्बसाधारणलाइ पनि लाठीचार्ज भएको बताएका छन् ।
आज साँझ गाइघाटमा राखिएको तरकारी प्रहरीले हटाउने क्रममा व्यापारीहरूसंग झडप परेको थियो । त्यसक्रममा प्रहरीले तरकारी फालिदिनुका साथै लाठी प्रहार गरेको व्यापारीहरूको आरोप छ ।
प्रहरीले भने लकडाउनको बेला भिडभाड हटाउन र प्रशासनले विहान ११ बजेसम्म मात्र बजार, पसल खोल्ने समय तोकेकाले साँझमा राखिएका तरकारी पसलहरू हटाउदा सामान्य बल प्रयोग गरेर भिड हटाउनु परेको जनाएको छ ।
कुटपिटको गुनासो आएपछि व्यापारीका प्रतिनिधीहरू र प्रहरी अधिकारीबीच छलफल भएको छ । छलफलका क्रममा व्यापारीहरूले प्रहरी ज्यादती भएको गुनासो राखेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले व्यापारी प्रतिनिधिहरूको गुनासो सुन्ने काम भएको बताउनुभयो । डिउटिको सिलसिलामा प्रहरीको तर्फबाट कमीकमजोरी भएको पाइएमा छानविन गरी कारवाही गर्ने उहाँले बताउनुभयो । डिउटीको धर्म र कर्तब्य भन्दा मुनी रहेर व्यक्तिगत हिसावले कमजोरी गर्ने प्रहरी कारवाहीको भागिदार हुने उहाँले बताउनुभयो ।
लकडाउन सर्बसाधारणको स्वास्थ्य सुरक्षाको खातिर भएको र त्यसको पालना गराउन प्रहरीको डिउटी भएको उहाँले बताउनुभयो । व्यापारीको माग र सर्बसाधारणको जिविकामा केही सहजताका लागि प्रशासनले विहान ११ बजेसम्म बजार, पसल खुल्ला पारेको अवस्थामा तोकेको समयभन्दा पछि पनि पसल खोल्ने, अनावश्यक मानवीय चहलपहल गर्ने काम गलत रहेको उहाँले बताउनुभयो । यस्तो अवस्थामा प्रहरीले कडाइ गर्ने उहाँले बताउनुभयो ।
व्यापारी र सर्बसाधारणले पनि नियम र लकडाउनको पालना गरेमा प्रहरी र ब्यापारी वा सर्वसाधारणसंग तनावको अवस्था नआउने उहाँले बताउनुभयो । प्रहरीको तर्फबाट कमजोरी हुन नदिन पूर्ण सचेतता अपनाइने र नागरिकहरूले पनि नियम र अनुशासनको पालना गरिदिन उहाँले आग्रह गर्नुभयो ।
त्रियुगा वाणिज्य संघ गाइघाटका प्रथम उपाध्यक्षा रमेश रसाइलीले व्यापारीको गुनासो प्रहरीले सुनुवाइ गरेको बताउनुभयो । भोलीदेखि व्यापारीलाइ पनि संयमित हुन र प्रशासनले तोकेको समय, नियम र स्वास्थ्य अनुशासन पालना गराउन संघले थप भूमिका खेल्ने बताउनुभयो । प्रशासन र संघको समन्वयमा बनाइएको लकडाउन केही खुकुलोको अवस्थालाइ झडपको अवस्था भन्दा सबैको हितमा पार्न संघको भूमिका रहने बताउनुभयो ।
नागरिक समाजका अगुवा एवम् मानवअधिकारकर्मी भरत खड्काले प्रशासन र व्यापारी संघकाे समन्वय अनुरूप व्यापारी र सर्वसाधारण अनुशासित ढंगले नियम, समय पालना गरेमा केही खुकुलाे पारिएकाे लकडाउनमा झडप नभइ सबैकाे हितमा हुने बताउनुभयाे । साेही हिसावले अगाडी बढ्ने गरी प्रहरी र व्यापारीबीचकाे छलफल टुंगिएकाे उहाँले बताउनुभयाे ।
