पूर्णपुष्टि/उदयपुर, माघ २२ गते
-उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा सञ्चालन भएको आयुष आयुर्वेदीक क्लिनिकले फिस्टुला, पायल्स, हाइड्रोसिलको ग्यारेण्टी उपचार भन्दै सर्बसाधारण विरामीलाई ठगी गरेको पाईएको छ ।
ठगी गर्ने क्लिकमा प्रहरीले छापामारी सञ्चालक बाबुराम कार्की र डाक्टर सुजित यादवलाई पक्राउ गरेको छ । छापाको क्रममा प्रहरीले डाक्टरको टेबलबाटै चुरोट, कण्डम, विभिन्न संकास्पद औषधिहरु फेला पारेको छ । क्लिनिकसंगैको रेस्टरुपमासमेत चुरोटका ढुटा, कण्डम, विभिन्न औषधिका खोल आदि बरामद भएका छन् ।
विमारी निको नभए सबै पैसा फिर्ता भन्ने प्रचार गर्दै विरामीलाई ठग्ने गरेको पिडितहरुले बताएका छन् । सामान्य उपचारका लागि पनि तीस, पैतिसहजारसम्म असुल्ने गरेको उनीहरुले बताएका छन् ।
एक महिलाले उपचारको ग्यारेण्टी पाएर उपचार गराएपनि निको नभएपछि गुनासो राख्दा उल्टै हप्कीदप्की गरेपछि क्लिनिकको कर्तुत सार्बजनिक भएको हो । सो क्लिनिकमा पायल्सको अप्रेशन गरेको तर निको हुनुको सट्टा अझ विमार बढ्दै गएको रौतामाई गाउँपालिकाकी पिडित महिलाले बताइन् । लापरवाहीपूर्ण उपचारका कारण पायल्सको घाउ अझ बढ्दै गएपछि पिडा सहनैनसक्ने अवस्थामा पुगेको र अन्त उपचार गराउन जानलाई सुरुमा भनिएअनुसार पैसा फिर्ता माग्दा उल्टै हप्कीदप्की गरेको उनले बताइन् ।
दुईवटा कोठामा दुईटा टेबल र एउटा खाटबाहेक केही नरहेको उक्त क्लिनिकले व्यवस्थापनको सामान्य मापदण्डसमेत पुरा नगरेको पाइएको छ ।
त्यस्ता क्लिनिकले विना सावधानी, विना सामग्री विरामीलाई अप्रेशन गर्ने गरेको पाईएको छ । जेनरल फिजिसियन तथा जर्नल डा. सुजित यादव भनिएपनि सर्टिफिकेट नै नभएका बाबुराम कार्कीले अप्रेशनको काम गर्ने गरेकाले विरामी थप जोखिममा पर्ने गरेका छन् ।
अप्रेशन गरिएका विरामीहरुलाई आराम गर्ने एउटा सामान्य ठाउँकोसम्म व्यवस्था नरहेपछि पिडाले छटपटिएका विरामीहरु क्लिनिक अगाडीको धुलोमा सुत्न बाध्य छन् । आयुर्वेदीक पद्धतीको नाममा सिरिन्च तथा मेडिकलका औषधि प्रयोग गरेर विरामीको आँखामा छारो हाल्ने काम भइरहेको सर्बसाधारणको आरोप छ ।
सदरमुकाम छेउमै प्रशासनकै अगाडी क्लिनिकले उपचारको नाममा केबल सर्बसाधारण विरामीबाट ब्रम्हलुट गरिरहेको पाइएको छ । टिकट काटेपनि रसिद नदिने, उपचारको नामको पैसापनि हातहातै लिने रसिदसम्म नदिइ ठगी गरेको सर्बसाधारणले बताए ।
क्लिनिकका सञ्चालक कार्कीले सर्बसाधारण विरामीबाट मोटो रकम असुल गर्ने, अबैंधढंगले अप्रेशनसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकोले उनलाई मुद्दा नै चलाइने जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताउनुभयो । साथै डाक्टर यादवको कागजातको अनुसन्धान गरी उनको उपचारको अवस्थालाई हरेर कारवाही अगाडी बढाइने पनि एसपी भट्टले बताउनुभयो ।
सो क्लिनिकको शाखाको रुपमा कटारी, बेल्टार, सिरहाको लहान लगायतका ठाउँमासमेत सञ्चालन गरिरहेको बुझिएको छ । क्लिनिकका सञ्चालक, डाक्टरलाई कारवाहीदेखि क्लिनिक सञ्चालनको बैद्यतासम्मकै छानविन गर्न सर्बसाधारणको माग छ ।