Sunday, March 15News That Matters

डा. सन्दुक रुइतको प्रत्यक्ष निगरानीमा उदयपुरका पाँचसय बढि बृद्धबृद्धाको मोतियाबिन्दु शल्याक्रिया हुदै

२८ पुस, २०८२ । उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिका स्थित कोभिड अस्पताल भवनमा एकैसाथ पाँचसय भन्दा बढि बृद्धबृद्धाहरुको आँखाको शल्याक्रिया आजबाट हुदैछ । मोतियाविन्दु उपचारमा विशेष दक्षता हाँसिल गरेका र आँखा उपचारमा रुइतेक्टोमी पद्धतीको विकास गरेका सन्दुक रुइतको विशेष निगरानीमा शल्याक्रिया हुने भएको हो । सल्याक्रिया शिविर तीनदिन रहनेछ ।
चौनपाका मेयर कालुमान लामाका अनुसार आजसम्म ५३७ जना मोतियाविन्दु सल्याक्रियाका लागि छनौट भएका छन् भने भोलीसम्ममा अरु थप हुनसक्नेछन् । निःशुल्करुपमा शल्याक्रिया सुविधा पाउने उनीहरुको पुनः परिक्षणसमेत यहि राखिने छ ।  यसक्रममा विभिन्न पालिकाका चार हजार भन्दा बढिले आँखा परिक्षण तथा उपचार सेवा पाएका छन् । 
खर्चको अभावमा आँखा उपचारबाट बञ्चित बृद्धबृद्धाहरुलाई ध्यानमा राख्दै चौदण्डीगढीले छिमेकी पालिकासमेतलाई समेटेर कोभिड अस्पताल बेल्टारमा उपचारको ब्यवस्था मिलाएको हो । त्रियुगा र बेलका नगरपालिकाका बृद्धबृद्धासमेतले निःशुल्क मोतियाबिन्दु शल्याक्रिया सेवा पाएका छन् ।
आफ्नै ठाउँमा उपचार पाएकोमा सजिलो भएको चौदण्डीगढी नगरपालिका ७ की बृद्धा पार्वती राईले बताउनुभयो ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंसंगको समन्वय र सहकार्यमा पुस १९ गतेदेखि २८ गतेदेखि तीनवटै पालिकाको विभिन्न वडामा आँखा परिक्षण शिविर सञ्चालन गरी मोतियाबिन्दु विरामी छनौट गरिएको थियो ।