
पूर्णपुष्टि, जेठ २५ गते ।
नेपालमा तत्काल सलह किराको जोखिम टरेको छ । झुण्डमा उड्ने सलह किराको समुह विभाजित भएकाले तत्काल सलहको जोखिम टरेको कीट विज्ञले बताएका छन् ।
अहिले सलहको बहाव भारतकोे दक्षिण पूर्वतिर सर्ने सम्भावना रहेकोले नेपालमा जोखिम तत्काललाई टरेको वरिष्ठ कीट विज्ञ डाक्टर सुनिल अर्यालले बताउनुभयो ।
नेपालमा मनसुनी गतिविधि सुरु हुन थालेपछि सलहको प्रजननका लागि नेपालको हावापानी उपयुक्त नभएकाले यसको जोखिम टरेको अर्यालले बताउनुभयो । सलह किराललाई फूल पार्न मरुभूमिकै हावापानी चाहिने भएकाले मरुभूमिको जस्तो हावापानी नेपालमा नभएकोले अहिलेको लागि यो संकट टरेको बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य कार्यक्रम (एफएओ) ले पनि यस वर्षका लागि नेपालमा सलहको प्रकोप टरेको जानकारी गराएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
