
पूर्णपुष्टि, फागुन १८
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा आज विहानदेखि लागेको भीषण आगलागीबाट ५० घर जलेर नष्ट भएको ।
बस्तीमा लागेको आगो केही नियन्त्रणमा आए पनि बजारभन्दा माथिको भीरमासमेत आगो लाग्नथालेपछि खतरा झनै बढेको प्रहरीले जनाएको छ । अहिले बजारको बीच भागमा रहेका घरहरु भत्काएर केही हदसम्म आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।
स्थानीय भोला पौडेलको घरबाट विद्युत सर्ट भएर आगो लाग्न सुरु भएको जनाईएको छ । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो भित्रभित्रै बलि रहेकाले अझै सल्कने सम्भावना रहेको प्रहरीले जनाएको छ ।
दोभानमा करिब एक सय बढी घरहरु रहेका छन् । आगलागीबाट ती घरमा रहेका करिब १ सय २० वटा पसलहरु जलेर नष्ट भएको छ । आगलागीबाट भएको नोक्सानीको वास्तविक तथ्याङ्क आउन धरै समय लाग्ने प्रहरीले जनाएको छ ।
