Tuesday, July 28News That Matters

तिब्रगतिका कारण हुने सडक दुर्घटना न्यूनीकरणका लागि ‘छोरीको प्रतीक्षा’ लघुचलचित्र निर्माण

पूर्णपुष्टि/उदयपुर, साउन १२ ।

मदन भण्डारी लोकमार्गमा बढ्दो तिब्रगतिका कारण भइरहेको सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘छोरीको प्रतीक्षा’ नामक सडक सुरक्षा सचेतनामूलक लघुचलचित्र निर्माण गरिएको छ । लघुचलचित्रमा तिब्रगतिका कारण एक क्षणको लापरवाहीले कसरी परिवार, साथीभाइ र समाजले अपूरणीय क्षति व्यहोर्नुपर्छ भन्ने यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कथाअनुसार पुनम र सुनिता दुई मिल्ने साथी बजार जाने क्रममा मदन भण्डारी लोकमार्गमा स्कुटर तिब्रगतिमा चलाउँछन् । पुनमले बारम्बार सावधानी अपनाउन आग्रह गरे पनि सुनिताले आफ्नो आत्मविश्वास देखाउँदै गति कम नगर्दा अप्ठ्यारो घुम्तीमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुन्छ । दुर्घटनामा पुनमको उपचारकै क्रममा मृत्यु हुन्छ भने सुनिता गम्भीर घाइते हुन्छिन् ।

लघुचलचित्रको अन्तिम दृश्यमा बजार जानुअघि आफ्नी काखे छोरीलाई “फर्किंदा मिठो खानेकुरा ल्याइदिन्छु” भन्दै आश्वासन दिएर हिँडेकी आमाको कहिल्यै घर नफर्किने पीडादायी अवस्था देखाइएको छ । यसले तिब्रगतिले चालक मात्र होइन, घरमा प्रतिक्षारत परिवारका सदस्यको जीवन पनि सधैंका लागि बदलिदिने सन्देश दिन खोजिएको छ ।

निर्माण पक्षका अनुसार पछिल्लो समय मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा तिब्रगतिका कारण दुर्घटना बढ्दै गएको अवस्थालाई तिब्रगति नियन्त्रण हुदा पनि धेरै दुर्घटनामा कमी हुने कुरामा मध्यनजर गर्दै जनचेतना फैलाउने उद्देश्यले लघुचलचित्र निर्माण गरिएको हो ।

यो लघुचलचित्र जिल्ला ट्राफिक कार्यालय उदयपुर, सुरक्षित सडक अभियान उदयपुरपूर्णपुष्टि मिडिया उदयपुरको सहकार्य तथा समन्वयमा निर्माण गरिएको हो । अभियानमा सहभागी कलाकार तथा सहयोगीहरूले स्वस्फूर्त रूपमा योगदान दिएका छन् ।

निर्माण सहयोगमा जिल्ला ब्याडमिन्टन संघ उदयपुरका अध्यक्ष किसन राई तथा त्रियुगा उद्योग वाणिज्य संघका संस्थापक एवं पूर्व वरिष्ठ उपाध्यक्ष भरत चामलिङको सहयोग रहेको छ । अभियानकी संयोजक रमा मगरको कथा लेखनमा पत्रकार तथा पूर्णपुष्टिका सम्पादक भोटराज राईले निर्देशन र सम्पादन गरेका छन् । छायांकन पूर्णपुष्टिका पत्रकार विरशबाबु शाहीले गरेका हुन् ।

लघुचलचित्रमा प्रमुख भूमिकामा पुनम मगरसुनिता कार्की (तिम्सिना) रहेका छन् । बाल कलाकारका रूपमा सुहाना बुढाथोकीको अभिनय रहेको छ भने अन्य कलाकारमा निमेश राई, तुलसा शर्मा अधिकारी, सपना राईतारा कार्की रहेका छन् । छायांकन गाईघाटदेखि बेल्टारसम्मको मदन भण्डारी लोकमार्गअन्तर्गत असारीदेखि फुलजोर क्षेत्रसम्म गरिएको छ ।

निर्देशक भोटराज राईका अनुसार लघुचलचित्रले “तिब्रगतिले क्षणिक रोमाञ्च दिन सक्छ, तर त्यसको परिणाम जीवनभरको पीडा हुन सक्छ” भन्ने सन्देश प्रवाह गर्छ । सडकमा सुरक्षित यात्रा गर्न गति नियन्त्रण गर्नु नै दुर्घटना न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उनले बताएका छन् ।

कथाकार रमा मगरले सडक सुरक्षाको सन्देश समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउन दृश्य माध्यम सबैभन्दा सशक्त भएकाले यथार्थमा आधारित कथा तयार गरिएको बताइन् । जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज प्रहरी निरीक्षक दानबहादुर मगरले पनि चालकलाई सडक नियमको पालना गर्न, तिब्रगतिमा सवारी नचलाउन र सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गर्दै यस्ता जनचेतनामूलक सामग्रीले दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

निर्माण पक्षले लघुचलचित्रले विशेषगरी युवा सवारी चालकलाई तिब्रगतिको जोखिमबारे सचेत गराउँदै “गति नियन्त्रण गरौँ, जीवन बचाऔँ” भन्ने सन्देश समाजमा फैलाउने अपेक्षा गरेको जनाएको छ।