
पूर्णपुष्टि, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदयपुरको त्रियुगा नगरपालिकामा मेडिकल कलेज स्थापना गरिने बताउनु भएको छ । मेडिकल कलेज स्थापनाको माग सहित प्रधानमन्त्रीलाई भेट गर्न सिंहदरबार पुगेको त्रिनपाको प्रतिनिधी मण्डलसँग प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उदयपुरमा यसअघिनै मेडिकल कलेज स्थापना गर्ने निर्णय भईसकेको बताउनु हुदै त्रियुगा नगरपालिकाले प्रस्तावगरेको स्थानमा मेडिकल कलेज स्थापना गरिने बताउनु भयो । त्रियुगा नगरपालिकाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले आगामी बजेटको तयारी रहेको बेला ध्यानाकर्षण गर्न आउनु भएकोले आगामी बजेटमा त्रियुगा नगरपालिकामा मेडिकल कलेज निर्माणको प्रक्रिया सुरु हुने स्पष्ट पार्नु भयो । प्रधानमन्त्री दाहालले नेपाल सरकारको घोषित नीति अनुसार उदयपुरको गाईघाटमा मेडिकल कलेज स्थापना गर्न कुनै समस्या नरहेको पनि बताउनु भयो । नगरपालिकाले वडा नं ४ स्थित फर्सेटमा ६३ विगाहा जग्गाको व्यस्थापन गरी मेडिकलका नाममा ल्याउन प्रक्रिया सुरु गरिसकिएको छ ।