
पूर्णपुष्टि, वैशाख ३१ ।
उदयपुरको त्रियुगा नगरपालिकालाई प्रदेश सरकारको स्वास्थ्य कार्यालयले दुई हजार जनाका लागि शरीरमा रोगसंग लड्ने क्षमता बढाउने औषधि हिजो प्रदान गरेको छ । अल नेपाल होमियोप्याथीक एशोसियसनको सहयोगमा १ नंं प्रदेश सरकारको स्वास्थ्य कार्यालयले नगरपालिकालाई औषधि प्रदान गरेको हो ।
“आरसेनिकम एलबम ३०” नामक औषधी एक कार्यक्रमकाबीच प्रदान गरिएको हो । प्रदेश सरकारको तर्फबाट मेयर बलदेव चौधरीलाई औषधि हस्तान्तरण भयो । उक्त औषधीले मानिसको शरीरमा रोगसंग लड्ने क्षमता बढाउने भएकाले कारोना रोकथाममा विशेष टेवा पुर्याउने बताइएको छ । देशकै सबैभन्दा पहिले सबैभन्दा बढि संक्रमित भेटिएको जिल्ला भएका कारण नगरपालिकालाई सो औषधि प्रदान गरिएको बताइएको छ । सो औषधि प्रभावित क्षेत्र र केही अन्य ठाउँमा प्रयोगका लागि प्रदान गरिएको हो ।
सानो प्लाष्टिकको सुक्खा बोटलभित्र राखिएको साना आकारका १२ वटा दानालाई नैनिक चारवटाको दरले ३ दिन खानुपर्ने बताइएको छ । बालबालिकालाई भने दुईदाना दिनुपर्ने चिकित्सकको भनाइ छ ।
भारत सरकारले प्रयोग गरी विश्वासनीयता पाइसकेको बताइएको सो औषधिलाई नेपालको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नागरिकलाई वितरणका लागि स्विकृति प्रदान गरेको छ ।
उक्त औषधिलाई प्रभावित क्षेत्र र अन्य ठाउँमा पनि वितरण गरिने नगरपालिकाले जनाएको छ ।
प्रदेश सांसदहरु अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारसमेतको उपस्थितिमा प्रदेश सरकार, स्वास्थ्य कार्यालय र एशोसिएसनकोतर्फबाट आएको टोलीले प्रदान गरेको हो ।
