Saturday, June 27News That Matters

त्रिनपा ११ नं. वडाको सार्बजनिक सुनुवाई तथा वडागत याेजनाबारे छलफल

पूर्णपुष्टि, असार ६ ।

त्रियुगा नगरपालिका ११ वडाले आज सार्बजनिक सुनुवाई कार्यक्रम तथा वडागत छलफल  गरेको छ । वडाले विगत तीनवर्ष यता भए, गरेका विकास निर्माणका काम र बजेटको बारेमा जानकारी दिदै सार्बजनिक सुनुवाई गरेको हो ।

वडाध्यक्ष विश्वजित भट्टराईले आर्थिकवर्ष २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ मा भएका विकास निर्माणका कामहरुबारे जानकारी दिनुभयो । उहाँका अनुसार आव ०७४/०७५ मा वडामा ३२ वटा महत्वपूर्ण विकास निर्माणका काम भएका थिए । ०७५/०७६ मा ४७ वटा योजना सम्भन्न भए भने चालु ०६७/०७७ मा वडास्तरीय बजेटबाट १६ वटा र नगरस्तरबाट १० वटा रहेका थिए ।

एक्कासी कोरोना भाइरस विरुद्ध लड्नु परेकाले कतिपय योजनाहरु प्रभावित भई सम्पन्न हुन नसकिरहेको जनाइएको छ । लकडाउनकाबीच वडामा १७ लाख ४१ हजारको राहत वितरण गरेको अध्यक्ष भट्टराईले बताउनुभयो । वडाभरका २२ वटा टोल विकास संस्थाको माध्यमबाट राहत वितरण गरिएको उहाँले बताउनुभयो ।

११ नं. वडा पालिकाको मुटुकोरुपमा केन्द्रमा रहेको भन्दै यसलाई अवका दिनमा नमुना वडा बनाउन लागी पर्ने वडाध्यक्ष भट्टराईले उद्घोष गरे । त्यसका लागि सबै वडाबासी एकजुट हुन आव्हान पनि गर्नुभयो । अवका दिनमा कम्तिमा १० वटा टोल विकास संस्था समेटेर वडा समन्वय समिति बनाउने उहाँले बताउनुभयो । वडाले समन्वय समिति अहिलेसम्म बनाउन सकेको छैन । वडा समन्वय समिति नहुदा पनि काममा कठिनाई भएकोले अव बनाउने वडाध्यक्ष भट्टराईले बताउनुभयो ।

अवको वडाबजेट सिलिङ ५० लाखको मात्र रहेको जानकारी दिदै त्यसमा पनि ५ लाख प्रशासनिक, ५ लाख विपद र १ लाख आर्थिक सहायतामा अनिवार्य छुट्याउनु पर्दा ३९ लाख रुपैया मात्र विकास डानिर्माणमा रहने जानकारी दिनुभयो । थोरै बजेटले वडाभरलाई समेट्न कठिन हुने भन्दै वडाबासीले एकआपसमा विवाद नगरी प्राथमिकता र आवश्यकताको आधारमा बजेट विनियोजनमा मद्दत गर्न उहाँले अनुरोध गर्नुभयो । वडाले समेट्न नसक्ने र बजेटले नभ्याउने योजनालाई नगरस्तरीय योजनामा लैजाने बताइयो ।

कार्यक्रममा सहभागि टोल विकास संस्थाका पदाधिकारीहरुले वडाले सबै टोललाई समान ब्यवहार र समान दृष्टिले हेर्नु पर्ने र आवश्यकताको आधारमा बजेट तथा विकास योजना दिनुपर्ने माग गरे । वडाको छेउकुनाको भुगोल र बस्तीलाई विकासको गतिमा लैजान सकेमात्र वडा नमुना बन्न सक्ने भन्दै अवका दिनमा वडाका पछि परेको टोलहरुलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । कार्यक्रममा समाजका अगुवा तथा पत्रकारहरुले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरोना सचेतनामा समेत ध्यान दिन सुझाव दिए । वडालाई पारदर्शी र जवाफदेहि हुनुसक्नु पर्ने भन्दै त्यसको खबरदारी वडाबासीले गर्नुपर्ने बताए ।

चारैजना वडासदस्यहरुको सहभागिता रहेको कार्यक्रममा सहभागिको सुझाव र मागलाई मध्येनजर गर्दै अवको विकास योजना तथा बजेट बाँडफाट हुने वडाध्यक्ष भट्टराईले बताउनुभयो । आगामी नगरसभामा वडाको तर्फबाट प्राथमिकता र आवश्यकताको आधारमा योजना लैजाने बताउनुभयो ।