Sunday, February 16News That Matters

त्रिनपा १६ मा शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई सम्मान र पुरस्कारको बर्षा

पूर्णपुष्टि, २ असोज ।

त्रियुगा नगरपालिका वडा नं १६ ले वडा भित्र रहेका सामुदायीक विद्यालयहरुका उत्कृष्ट शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । अतिरिक्त क्रियाकलाप तथा छात्रबृत्ति वितरण कार्यक्रम अन्तर्गत ५९ औँ राष्ट्रिय बालदिवसको अवसर पारी वडामा रहेका विद्यार्थी तथा शिक्षकहरुलाई बिभिन्न बिद्यामा पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको हो ।

वडाअध्यक्ष मान वहादुर राईले शैक्षिक क्षेत्रको गुणस्तरमा यस्ता कार्यले ठुलो सहयोग पुराउने भन्दै भव्य कार्यक्रमको आयोजना गरिएको जनाए । वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रमले सामुदायीक विद्यालयको शिक्षा सुधार र वालवालिकाहरुको शिक्षामा अधिकार प्रदान गर्ने राईको भनाई छ । बिहिबार वालदिवसको अवसरपारी गरिएको अतिरिक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधिहरुको बिषेश उपस्थिति रहेका थिए ।

वडा सचिव महेश खनालका अनुसार अतिरिक्त क्रियाकलाप र छात्रावृति वितरण कार्यक्रम अन्तर्गत उत्कृष्ट विद्यालय, उत्कृष्ट अंक ल्याउने विद्यार्थी, एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी, विद्यालयमा नियमित सहभागी हुने विद्यार्थी, अनुसासनको पालना गर्ने विद्यार्थी, बिषयगत शिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षक र विद्यार्थीलाई नियमित विद्यालय पठाउन भुमिका खेल्ने अभिभावकहरुलाई भव्य सम्मान गरिएको जनाए ।

कुनकुन विद्यामा प्रदान गरियो पुरस्कार

९ देखी १० सम्म उत्कृष्ट विद्यालयको रुपमा मावि भोर्लेलाई सम्मान पत्र प्रदान गर्दै पुरस्कृत गरिएको छ । यता आधारभूत विद्यालय तर्फ पनि ६ देखी ८ सम्म भोर्लेनै उत्कृष्ट बनेको छ । मावि तर्फ ५४ प्रतिशत र आवि तर्फ ६५ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्टमा भोर्लेले बर्चस्व कायम गरेको छ । दुवै विद्यालयलाई सम्मान पत्र सँगै पुरस्कृत गिरिएको सचिव खनालले जनाए । यता आधारभूत विद्यालय तर्फ १ देखी ५ सम्म भने बेङग्रीलाई पुरस्कृत गरिएको छ । यस विद्यालयले ६७.६० अंक प्राप्त गर्दै १ देखी ५ सम्मको आधारभूत विद्यालयको उत्कृष्ट अंक प्राप्त गरेको हो ।यस्तै ७ ओटा विद्यालयका प्रथम विद्यार्थीहरुलाई प्रशंसा पत्र र कापि कलम पुरस्कार प्रदान गरिएको छ । यस्तैगरी एसईईमा उत्कृष्ट अंक ३.३५ जिपिए ल्याउने मावि भोर्लेकी यमुना अधिकारीलाई एक हजार नगद सहित परस्कार गरिएको छ ।
यता ७ ओटै विद्यालयका नियमित विद्यार्थीहरुलाई पनि कदर पत्रबाट सम्मान गरिएको छ । साथै विद्यार्थीलाई नियमित विद्यालय पठाउन भुमिका खेल्ने अबिभावकहरुलाई पनि सम्मान गरिएको खनालको भनाई छ । यता बिषयगत शिक्षामा उत्कृष्ट शिक्षकहरुलाई पनि कदर पत्रले सम्मान गरिएको छ । यी सबै कार्यक्रम अतिरिक्त क्रियाकलाप अन्तर्गत गरिएको खनालले जनाए ।

शैक्षिक सामाग्री वितरण

दिवसकै अवसर पारी जेहेन्दार, विपन्न र दलित परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको छ । बाल अक्षय कोषको रकम बाट ५४ जनालाई स्कुल ब्याग, कापी कलम र अन्य शैक्षिक सामाग्रीहरु प्रदान गरिएको हो भने ४ जनालाई छात्रावृत्ति समेत प्रदान गरिएको छ । वालदिवसकै अवसर पारी हाजीरी जवाफ र बतृत्वकला पनि गराईएको छ ।कार्यक्रममा वडाअध्यक्ष राई सहित वडा सदस्य तथा जिल्ला समन्वय समितिका सदस्य गोमा कार्की, वडा सदस्यहरु घमान सिंह राई, रामनारायण श्रेष्ठ र कुन्ती परियार लगायतले पुरस्कार प्रदान गरेका थिए ।