Monday, May 12News That Matters

त्रियुगामा विद्यालयहरु बन्द नगरिने निर्णय

पूर्णपुष्टि, पुष २७
कोरोना प्रभावित क्षेत्रको आधारमा त्रियुगा नगरपालिका ग्रिन जोनमै रहेको हुनाले सामाजिक विकासको निर्णय अनुसार नगर भित्रका विद्यालयहरुलाई बन्द नगरिने जनाईएको छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरे पनि उदयपुरको त्रियुगा नगरका विद्यालयहरु भने बन्द नहुने भएको छ ।
यसअघि कोरोना संक्रमणको हटस्पट बनेको त्रियुगा नगरपालिकाले अहिले त्रियुगामा कोरोना संक्रमणको स्थिति नियन्त्रणमै रहेकाले विद्यालयहरु नियमितरुपमै सञ्चालनमा रहने नगर सामाजिक विकास शाखा प्रमुख मान बहादुर राईले बताउनुभयो ।

‘त्रियुगा अहिले ग्रिन जोनकै अवस्थामा छ । त्यसैले अहिले नै विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था छैन,’ उहाँले बताउनुभयो । विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने निर्णय स्थानीय तहको अधिकारभित्र पर्ने भएको भन्दै राईले बताउनुभयो, ‘जुन दिन त्रियुगामा संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने संकेत देखिन्छ । त्यही बेलादेखि मात्र नगरका विद्यालयहरु बन्द गरिन्छ ।’
शिक्षा शाखा प्रमुख एक बहादुर राउतले बालबालिकालाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन लगाएर विद्यालय सञ्चालन गर्न सकिने बताउनुभयो ।