
पूर्णपुष्टि, माघ ९ । त्रियुगा नगरपालिकाले अति विपन्न वर्गका लागि निर्माण गरिरहेको ८० वटा सुरक्षित आवास निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा साझेदार संस्था ह्याबिट्याट फर हुम्यानिटिका प्रतिनिधिले यो जानकारी दिएका हुन् ।
नगरपालिकाले अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा वडा नं. २, ३, ४, ५, ७, ८ र १० मा दुई बेडरुम, एक किचेन र शौचालय सहितको भूकम्प प्रतिरोधी आवास निर्माण गरिरहेको छ । प्रत्येक आवास एकाइको निर्माण लागत करिब ५ लाख रुपैयाँ रहेको छ ।
त्रियुगाका मेयर बसन्त कुमार बस्नेतका अनुसार आवास निर्माणमा स्थानीय सामग्री र जनशक्तिको प्रयोग गरिएको छ । स्थानीय बाँसलाई केमिकल ट्रिटमेन्ट गरी प्रयोग गरिएको र स्थानीय श्रमिकलाई तालिम दिई परिचालन गरिएको छ । खानेपानी, बिजुली र सडकको पहुँच भएका स्थानमा यी आवास निर्माण गरिएका छन् ।
मेयर बस्नेतले आफ्नो कार्यकालभर यस्ता आवास निर्माण कार्यलाई निरन्तरता दिने बताए । उनका अनुसार साझेदार संस्थाको सहयोग नपाएमा लाभग्राहीसँग लागत साझेदारी गरेर भए पनि यो परियोजना अगाडि बढाइने छ । कार्यक्रममा उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिक्देल, सम्बन्धित वडाका अध्यक्षहरू र साझेदार संस्था हुरेन्डेकका प्रतिनिधिको उपस्थिति रहेको थियो ।