
पूर्णपुष्टि/गाईघाट, चैत १४ गते
-राष्ट्रिय गान देशभर गाइए जस्तै उदयपुरको त्रियुगा नगरपालिकाले आप्mनो क्षेत्रमा ‘नगर गान’ र ‘नगर लोगो’ (म्युनिसिपल एन्थेम एण्ड म्युनिसिपल लोगो) सिर्जना गरेर लागू गर्ने भएको छ ।
सदरमुकाम तथा उदयपुरको जेठो र क्षेत्रफलको हिसावले सबभन्दा ठूलो नगरपालिका त्रियुगाले आउँदो नगर सभा अधिवेशनबाट पारित गरेर लागू गर्ने गरी नगर गान र नगर लोगो सिर्जना गर्न सर्जकहरुलाई खुल्ला आव्हानसमेत गरिसकेको जनाएको छ ।
नगरपालिकाका प्रमुख बलदेव चौधरीले त्रियुगा नगरबासीको छुट्टै पहिचान देखाउन र नगरपालिकाको साँस्कृतिक, प्राकृतिक, सामाजिक, ऐतिहासिक, भौगोलिक तथा बहु पहिचान झल्को दिनेगरी नगर गान र नगर लोगो बनाउन सूचना जारी गरेको बताउनुभयो । गत फागुन २५ गते सम्पन्न दोस्रो नगरसभा अधिवेशनले नगरपालिकाको पहिचान स्थापित गर्न नगर गान सिर्जना गरी सभा समारोह आदिमा गाउने÷बजाउने प्रारम्भिक खाका तयार गरिएको उहाँले बताउनुभयो ।
त्रियुगाको आप्mनै पहिचान झल्काउने गरी नगर गान अर्थात म्युनिसिपल एन्थम बनाउन लागेको नगरपालिकाले जनाएको छ । यस्तो ‘नगर गान’ नगरपालिकाका हरेक औपचारिक कार्यक्रमहरुमा राष्ट्रिय गान जस्तै कार्यक्रम सुरु हुनुभन्दा अगाडि सामुहिक रुपमा गाउने नियम बसाल्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले बताउनुभयो । ’ लुईटेलका अनुसार हरेक देशको आप्mनो छुट्टै राष्ट्रिय गान भएजस्तै त्रियुगा नगरपालिकाले पनि छुट्टै नगर गान र नगर लोगो बनाएर लागू गर्न सक्छ ।
नगर गान सिर्जना गर्न नगरपालिकाले नगरभित्रकै बिभिन्न गीतकार तथा साहित्य सर्जकहरुलाई ५० शब्दमा नबढ्ने गरी बढीमा ८ हरफमा लेख्न आव्हान् गरेको छ । लुईटेलले सूचना प्रकाशित गरेर सिर्जना पेश गर्न खुल्ला आव्हान गरेको बताउनुभयो । यस्तै नगर लोगो निर्माण गर्नको लागि पनि खुल्ला आव्हान गरिएको छ ।
प्रशासकीय तथा योजना अनुगमन अधिकृत विश्वजित राईले १५ दिनको म्याद दिएर सूचना जारी गरेर रचना माग गरेको बताउनुभयो । ‘निश्चित समयावधि तोकेर रचना माग गर्दा पेश हुने गीत तथा लोगो मध्ये उत्कृष्टलाई छनौट गरेर संगीत भरी नगर सभाले पारित गरेपछि नगर गान लागू हुन्छ’ प्रशासकीय अधिकृत राईले भन्नुभयो ‘त्यसका लागि विज्ञहरु सम्मिलित छनौट समिति बनाएर गीत छान्ने काम हुनेछ ।’ नगर गानका लागि राष्ट्रिय भावना समेटिएको, जातीय सद्भाव, लैंगिक समानता, भौगोलिक, प्राकृतिक र ऐतिहासिक सम्पदा उजागर गर्ने शब्दले भरिएका रचनालाई नगर गानमा प्राथमिकता दिइने छ ।
नगरपालिका लोकतान्त्रिक गणतन्त्र र संघीयताको कार्यान्वयन गर्न अधिकारसम्पन्न स्थानीय सरकार हो भन्ने प्रभाव छाड्न पनि नगर गान लागू गर्न लागिएको नगरपालिकाले जनाएको छ ।