
पूर्णपुष्टि, जेष्ठ २६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ बिसनपुरस्थित त्रियुगा हरित पार्क क्षेत्रदेखि दक्षिणतर्फको त्रियुगा नदीमा यो वर्ष पनि तटबन्ध निर्माणको काम नहुँदा बस्ती डुबानको खतरामा परेको छ । गत वर्ष बाढीले हरित पार्क भएको क्षेत्र पूरै डुबानमा पारेको थियो ।

हरित पार्क बनेको स्थानमा अहिले नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा त्रिबेणी बालकेन्द्र, बाल आश्रम, वृद्धाश्रम र क्रिकेट रंगशालाको निर्माण भइरहेको छ भने तटबन्ध नभएकै कारण फेरी सो क्षेत्र डुबानको खतरामा परेको छ ।
त्रियुगा नगरपालिका वडा नं. १२ का वडा सदस्य लक्ष्मी चौधरीले सरकारको लगानीमा धेरै संरचना बनिरहेको भएतापनि नदीमा बाँधको काम हुन नसकेको बताइन् । नदीमा बाध नभएको र बर्षा सुरु भएकोले नदीको बाढी बस्ती पसेर फेरि पनि ठूलो क्षति नगर्ला भन्न सकिने अवस्था नरहेको उनले बताईन् ।
यो वर्ष नदीमा तटबन्ध गर्ने आश्वासन दिएकामा काम हुन नसकेको भन्दै ४ वर्ष अगाडि स्थापना भएको त्रियुगा नदी नियन्त्रण कार्यालयले बस्ती छेउमा तटबन्ध नगर्दा वर्षासँगै बाढीको खतरा बढेको बताईन् । गत बर्ष पनि नदिको बाढी बस्ती पसेर डुबानमा परेको र भौतिक सम्पत्तिको क्षेति हुँदा स्थानिय बासिन्दा समस्यामा परेको चौधरीले बताईन् ।
स्थानिय प्रथमलाल चौधरीका अनुसार विसनपुर गाउँको तल र माथिल्लो क्षेत्रको नदीमा तटबन्ध लगाएको भए पनि नदी नियन्त्रण कार्यालयले बीचको गाउँ भएको स्थानको खोलामा भने तटबन्ध नगरिदिँदा समस्या आएको हो । गत बर्ष गाउँ पसेको नदीमा तटबन्ध गर्न जनप्रतिनिधि, राजनीतिक दल र धेरैले त्यस बेला चासो देखाएतापनि कतैबाट काम हुन नसकेको उनले बताए । स्थानीयवासीहरूले तत्काल तटबन्ध निर्माण गर्न माग गर्दै आएका छन् ।
