
पूर्णपुष्टि, फागुन ३ । त्रियुगा माध्यमिक विद्यालय गाईघाटका सह–प्रधानअध्यापक विदुर खड्काले आफ्नो स्वर्गीय पिताको नाममा १ लाख २० हजार ७२ रुपैयाको अक्षयकोष स्थापना गरेका छन् ।
उनले आफ्नो जन्मदिनको अवसरमा बुधबार स्वर्गीय पिता पदम खड्काको स्मृतिमा उक्त कोष स्थापना गरेका हुन् । विद्यालयका प्रधानअध्यापक सुभाष विष्टका अनुसार यस अक्षयकोषको रकमबाट जेहेन्दार तथा अपाङ्गता भएका छात्रछात्राहरूलाई छात्रवृत्ति प्रदान गरिने छ । प्रधानअध्यापक विष्टले यस किसिमका अक्षयकोषहरूले विद्यालयलाई आर्थिक रूपमा सबल बनाउनुका साथै विद्यार्थीहरूलाई प्रोत्साहन मिल्ने बताए ।
खड्काले आफ्नो पिताको स्मृतिलाई जीवन्त राख्न र साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सहयोग पुर्याउने उद्देश्यले यो अक्षयकोष स्थापना गरेको बताए । उनले भने, ‘आफ्नो जन्मदिनलाई अर्थपूर्ण बनाउन र पिताको सम्झनामा यो सानो प्रयास गरेको हुँ ।’ खड्काले विद्यालयको वार्षिक उत्सवको अवसर पारेर यो कोष स्थापना गरेको हो ।