Saturday, April 26News That Matters

त्रियुगा १५ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

पूर्णपुष्टि, फागुन ४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम रूपमा सुरु भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को कार्यक्रम अन्तर्गत शनिबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रमका लागि वडा नम्बर १५ मा २४ जना बेरोजगार व्यक्तिहरूलाई छनोट गरिएको छ । यस अन्तर्गत वडाका चारवटा सडकहरूको विस्तार तथा स्तरोन्नति गरिने योजना रहेको छ ।

नगर प्रमुख बसन्त कुमार बस्नेतले कामदारहरूलाई परिचयपत्र, सुरक्षा सामग्री र आवश्यक औजारहरू वितरण गरे । उनले स्थानीय बेरोजगारहरूलाई गाउँमै रोजगारी सिर्जना गरी युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न यो कार्यक्रम सञ्चालन गरिएको बताए । नगरपालिकाले अन्य चार वडाहरूमा पनि यस्तै बेरोजगारलाई रोजगारी दिने र स्थानीय विकास निर्माणमा टेवा पुग्ने योजनाहरू सञ्चालन गर्ने तयारी गरेको मेयर बस्नेतले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमकी संयोजक निशा घलेका अनुसार त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ३ सय ८१ जना श्रमिक सूचीकृत गरेको छ । कार्यक्रम अन्तर्गत कामदारले दैनिक ६ सय ६८ रुपैयाँका दरले १०० दिन रोजगारी पाउनेछन् ।

सूचीकृत कामदारहरूको सुरक्षाका लागि काम गर्दै गरेको अवस्थामा दुर्घटना भएमा ७ लाख रुपैयाँ बराबरको सुरक्षा बीमा गरिएको संयोजक घलेले जानकारी दिइन् ।अभिमुखीकरण कार्यक्रममा वडा नं. १५ का अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षता र नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।