
पूर्णपुष्टि, पुष ४ । जग्गा तथा सम्पत्ति खोजबिन आयोगले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित १०८ रोपनी जग्गा अनधिकृत रूपमा प्रयोग गरिरहेको ल्याब स्कुललाई जग्गा फिर्ता गर्न र भाडा तिर्न सिफारिस गरेको छ । विद्यालयले २४ वर्षदेखि उक्त जग्गा प्रयोग गर्दै आएको छ ।
कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको समूहले गुठीअन्तर्गत सञ्चालन गरेको यो विद्यालयलाई शिक्षा मन्त्रालयले २०५७ सालमा १५ वर्षका लागि जग्गा दिएको थियो । तर सम्झौता अवधि सकिएपछि पनि त्रिविले पटक(पटक जग्गा खाली गर्न भन्दा विद्यालयले अटेरी गर्दै आएको पाइएको छ ।
आयोगका अनुसार विद्यालयले जग्गाधनीको मन्जुरीबिना कब्जा गरेर व्यापार(व्यवसाय सञ्चालन गरेको र त्रिविको जग्गा हत्याउन जालसाजीसमेत गरेको प्रमाण फेला परेको छ । यस प्रकरणमा आयोगले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने दुवै पक्षमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विस्तृत अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगको सिफारिसबमोजिम कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन् भने संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
