
पूर्णपुष्टि/कटारी, फागुन ८ गते
-राष्ट्रपति बिद्यादेवी भण्डारीले प्राकृतिक स्रोतसाधनको धनि देश भएपनि यसको समुचित व्यवस्था नहुँदा मुलुक समृद्ध हुन नसकेको बताउँदै शिक्षाको क्षेत्रबाट स्रोतसाधनको वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उदयपुरको कटारी नगरपालिका स्थित त्रिवेणी माध्यमिक बिद्यालयको स्वर्ण महोत्सवको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरामा जोड दिनुभएको हो । उहाँले सामुदायिक बिद्यालयको गुणस्तरीयता, विकास र समृद्धीबाट मात्र देशविकास सम्भव हुने भन्दै राष्ट्रको ठुलो लगानी शिक्षा क्षेत्रमा भएकाले यसको वैज्ञानिक व्यवस्थापन, गुणस्तरीयता र आवश्यक सुधारको खाँचो रहेको बताउनुभयो ।
प्राविधिक शिक्षामा जोड दिनुपर्ने भन्दै हउाँले उद्योग, कल–कारखाना, कृषि क्षेत्रको विकास गरी आबश्यक जनशक्ति उत्पादन गर्दै वेरोजगारी समस्याको समाधान गर्नु पर्नेमा पनि जोड दिनुभयो । उहाँले श्रमको उचित सम्मान नहुँदा मुलुक समृद्ध बन्न नसकेको भन्दै अभाव र गरिवी हटाउन स्थानीय प्राकृतिक स्रोतसाधनको अधिकतम् प्रयोग र श्रमको सम्मान गर्न आबश्यक रहेको बताउनुभयो ।
मुलुक यतिबेला तीन वटै तहको निर्वाचन सम्पन्न गरी सुखी र समृद्ध नेपालतर्फ अग्रसर भएको बताउँदै विकास निर्माणमा सबैको सार्थक सहभागिता र सहयोग आबश्यक रहेको बताउनुभयो ।
उहाँले त्रिवेणी क्षेत्रका खनिज पर्दाथ, जलस्रोतको अधिकतम प्रयोग, कच्चा पर्दाथको औद्यौगिकरण तथा उदयपुर सिमेण्ट उद्योगको उचित व्यवस्थापन र सुधार गरी जिल्लाको विकास निर्माणलाई अगाडी बढाउनुका साथै हजारौंलाई रोजगारको अवसर मिल्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले हिमाल, पहाड, तराईको फाँटले सजिएको १ नम्बर प्रदेश विकास, समृद्धी र सम्पन्नताले पनि १ नम्बर नै बन्ने ठोकुवा गर्नुभयो । उहाँले केहि दिनभित्रै प्रदेश सरकारले समृद्ध प्रदेशको खाका तयार गरी सार्वजानिक गरिने बताउनुभयो ।
राईले वर्तमान अबस्थामा द्वन्द्व, आराजक, अस्थिरताको कुनै गुन्ज्यायस नहुने भन्दै तीनवटै तहको निर्वाचनपछि मुलुकमा संक्रमणकालको अन्त्य भएको उद्घोष गर्नुभयो । मुख्यमन्त्री राईले मुलुक यतिबेला नयाँ युग, नयाँ एजेण्डा लिएर अघि बढिसकेकाले सानातिना समस्यालाई तेस्राएर समृद्ध नेपाल निर्माणको यो महाअभियानलाई छेकबार नगर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा कटारी बिद्यार्थी समाजका अध्यक्ष शम्भु थापाले त्रिवेणी स्कुललाई देशकै नमुना स्कुल बनाउने उद्घोष गरेका छन् । प्रतिनिधिसभा सदस्य उदयपुर क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई (हिमाल), प्रदेश सांसदहरु कला घले, नारायण बुर्जामगर, विमल कार्की, अम्बिका थापा, जिल्ला समन्वय समिति उदयपुर प्रमुख खड्ग परियार लगायत नगर तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, सुरक्षा प्रमुख तथा कार्यालय प्रमुखहरु र सर्बसाधारणको व्यापक सहभागिता रहेको कार्यक्रममा विद्यालयलाई यो अबस्थासम्म ल्याउन योगदान पुर्याउने व्यक्तिहरुलाई राष्ट्रपति भण्डारीको हातबाट कदर पत्र प्रदान गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले विद्यालयको स्वर्ण अवसरमा स्थापना गरिएको स्वर्णस्तम्भको अनावरणसमेत गर्नुभयो ।