Friday, February 14News That Matters

त्रिवेणी मैनी मेलामा ५० करोड बढीको कारोबार

पूर्णपुष्टि, माघ २२ । कटारी नगरपालिका-२ खोक्सामा माघे संक्रान्तिदेखि जारी ऐतिहासिक त्रिवेणी मैनी मेला २० दिनको औपचारिक कार्यक्रम सम्पन्न भएको छ । मेला व्यवस्थापनको जिम्मा पाएको चण्डीका सप्लायर्सका प्रतिनिधि सन्तबहादुर तामाङका अनुसार यस वर्षको मेलामा ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ भने २० लाख भन्दा बढी दर्शकले मेला अवलोकन गरेका छन् ।

तीन खोलाको संगमस्थलमा लाग्ने यो मेलामा कोशी, वागमती, मधेस प्रदेश र भारतबाट समेत तीर्थालुहरु आएका थिए । तीनसय भन्दा बढी स्टल रहेको यस वर्षको मेलामा स्थानीय उत्पादनदेखि विभिन्न जातजातिका परम्परागत खानपान, भाँडावर्तन र लत्ताकपडाको किनमेल भएको थियो ।

परापूर्व कालदेखि लाग्दै आएको यो मेला पहाड र मधेस जोड्ने सेतुको रूपमा चिनिन्छ। विगतमा एक महिनासम्म लाग्ने यो मेला द्वन्द्वकालपछि १५ दिन र यस वर्ष २० दिन लागेको हो । कमला, तावा र ककरु खोलाको संगमस्थलमा स्नान गरी पूजा आराधना गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।