Tuesday, March 18News That Matters

दशैका लागि मिनिपानीजहाज सञ्चालन

पूर्णपुष्टि/उदयपुर,असोज ९ गते ।

उदयपुर र सुनसरीको सिमा चतराबाट सप्तकोशी हुदै भोजपुर र धनकुटातर्फ चल्ने मिनिपानीजहाँज बर्षामा स्थगित रहेकोमा आजबाट सञ्चालनमा आएको छ ।

नजिकिदो पर्व दशैं र तिहारलाई मध्येनजर गर्दै तीन महिना स्थगित मिनीपानिजहाज सञ्चालनमा ल्याइएको सञ्चालक समितिका सदस्य पर्शुराम राईले बताए ।

राईका अनुसार दशैं, तिहारमा पहाडी भेगका गाउँघर फर्किने यात्रु अत्याधिक हुने र उनीहरुलाई सुविधा पुर्याउने उदेश्यले सञ्चालनमा ल्याएको हो । वर्षाका कारण सप्तकोशीको वहाव बढ्ने कारणले असार, साउन र भदौ स्थगित गरिएको थियो ।
वर्षातमा कमि आएसंगै सप्तकोशीको पानी घटेर पुरानै अवस्थामा आएकाले मिनिपानीजहाज अर्थात जेटबोट सञ्चालन गर्न सकिएको राईले बताए ।

स्थगितपछिको पहिलो दिन आज क्यान–१ ले एकपटक यात्रा भरेको थियो ।
उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा गाउँपालिकाको बीचमा रहेको सप्तकोशी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्म जेटबोट सन्चालन हुनेगर्छ । त्यहाँ दुईओटा जेटबोट रहेका छन् ।

यात्रु तथा पर्यटकहरु करिब १५ किलोमिटरको दुरीमा यात्रा गर्दछन् । यसबाट खासगरी भोजपुर, धनकुटा र उदयपुरको माथिल्लो विकट भेगका बासिन्दालाई सुविधा पुगेको छ । उनीहरुलाई ७ घण्टासम्म हिड्न पर्ने भौगोलिक अवस्थालाई जेटबोटबाट १५ मिनेटमै पार गर्न सम्भव भएको छ ।

यसैवर्षदेखि सञ्चालनमा आएको त्यहाँको जल यातायात लोकप्रिय बन्दै गएको छ । यात्रु र पर्यटकहरु जलयात्रामा रमाउने गरेका छन् भने सहजता र सुविधा मिलेकाले यात्राका लागि रोजाईमा पार्ने गरेका छन् ।