
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, माघ २२ । दशौँ नारदमुनि थुलुङ स्मृति गोल्ड कपको उपाधि सलहेश युवा क्लब सिराहाले जितेको छ । मङ्गलबार बसाहा स्थित नारदमुनि थुलुङ स्मृति रङ्गशालामा भएको फाइनल खेलमा झापा ११ फुटबल क्लब झापालाई १ गोलको विरुद्ध २ गोल गर्दै सलहेसले उपाधि चुमेको हो ।
सलहेशका लागी दुबै गोल जर्सी नं. १७ का मिलन राईले गरे । उनले खेलको ३६ औँ मिनेटमा गोल गर्दै सलहेशलाई आग्रता दिलाएका थिए भने ३८ औँ मिनेटमा पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । खेलको ६२ औँ मिनेटमा झापाका लागी जर्सी नं. ११ का राजेश दाहालले एक गोल गरे । यस खेलको म्यान अफ द म्याच सलहेशका जर्सी नं. १७ का मिलन राई बने ।
उपाधि विजेता सलहेसले नगद रु ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता झापाले नगद रु २ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपाधि विजेतालाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले पुरस्कार हस्ताण्तरण गरेका थिए । त्यस्तै खेलको समापन समारोहमा विभिन्न विधागत पुरस्कार समेत हस्ताण्तरण गरिएको थियो ।