Sunday, March 16News That Matters

दाइले छिटो आउनू भनेकै दिन पड्कियो मःम पसल

पूर्णपुष्टि, माघ २४ । कमलपोखरीस्थित चर्चित ‘कमलपोखरी शान्दार मःम’ पसलमा बिहीबार बिहान भएको ग्याँस सिलिन्डर विस्फोटमा ११ जना कामदार घाइते भएका छन् । घटनामा परी दुई जनाको अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

पसलका एक कामदार आर्यन मगरका अनुसार सामान्यतया बिहान १० बजेदेखि सुरु हुने काम त्यस दिन भने पसल सञ्चालकले ग्याँस झार्ने काम रहेको भन्दै छिटै आउन भनेका थिए । उनी पसलबाट कालोपुलतर्फ किमा लिन गएको बेला विस्फोट भएको थियो ।

‘अरु दिन त १० बजेदेखि काम हुन्थ्यो । आज दाइले भोलि ग्याँस झार्ने काम छ, अलि छिटो आऊ भन्नुभएको थियो,’ मगरले भने । पसलमा उनीसहित १५ जना कामदार कार्यरत थिए, जसमध्ये एक जना त्यस दिन बिदामा थिए ।

करिब पौने ९ बजेतिर भएको विस्फोटपछि भवनको सिलिङ ढलान समेत खसेको थियो । घटनास्थलमा खटिएका एक सुरक्षाकर्मीका अनुसार विस्फोटभन्दा पनि ढलान खस्दा बढी मानिसहरू घाइते भएका थिए ।

पसल नजिकै काम गर्ने एक प्रत्यक्षदर्शी महिलाले यो मःम पसल करिब २८–२९ वर्षअघि मामाभाञ्जाले सुरु गरेको र त्यसयता क्षेत्रकै चर्चित व्यवसायका रूपमा स्थापित भएको बताइन् । सबै घाइतेहरूलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।