
पूर्णपुष्टि, भदौ २१
आफ्नै दाजुको हत्या गरि फरार रहेका भाई पक्राउ परेका छन् । झापा कचनकवल–३ का ३७ वर्षीय रतन राजबंशीलाई आफ्नै दाईको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
हिजो बिहान साढे ७ बजे कचनकवल गाउँपालिका–३ केचना घर भई हाल बिर्तामोड नगरपालिका–४ स्थितमा डेरा गरी बस्ने ५० वर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई बुझ्दा हत्या भएको आशंकामा अनुसन्धान गर्ने क्रममा उनकै भाई रतन राजबंशीले मार्तलले हानी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । दाजुको हत्या गरि फरार रहेका रतनलाई खोजतलासमा खटिएको प्रहरी टोलीले हिजै राती ९ बजे मेचीनगर–१५ स्थितबाट मार्तलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै उनलाई जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
